arrow

फागुन १४ देखि चौबीसौँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
rafting-nepal.jpg

काठमाडौँ। नदी जोगाउँदै साहसिक पर्यटन प्रवर्द्धन गर्ने सन्देश दिने उद्देश्यले आगामी फागुन १४ देखि १६ गतेसम्म २४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज शुरू हुन लागेको छ ।

हिमालयन ह्वाइटवाटर च्यालेञ्ज तथा ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर र्याफ्टिङ र कायाकिङ महोत्सव यसपटक केवल प्रतिस्पर्धामा सीमित नभई नदी संरक्षण र दिगो साहसिक पर्यटन प्रवर्द्धनको सन्देश बोकेर अघि बढेको आयोजकले जनाएको छ ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्ने महोत्सवमा ३० अन्तर्राष्ट्रिय र एक सय ४० राष्ट्रिय खेलाडी सहभागी हुने जनाएको छ ।

नाराकाअनुसार तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कायाकिङका दुई र र्याफ्टिङको एक विधामा प्रतिस्पर्धा हुनेछ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले हिमाल मात्र होइन, नदीजन्य साहसिक गतिविधिलाई पनि नेपालको अन्तर्राष्ट्रिय पर्यटन पहिचानका रूपमा स्थापित गर्नुपर्ने बताए ।

उनले नदी संरक्षणबिना साहसिक पर्यटनको भविष्य सुरक्षित नहुने उल्लेख गरे ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले जलविद्युत् आयोजना र नदीजन्य उत्खननले नदीमा आधारित साहसिक खेलमा प्रत्यक्ष असर पारिरहेको बताए ।

उनले सरकारलाई जलविद्युत् र पर्यटनका लागि उपयुक्त नदी छुट्याएर दिगो व्यवस्थापनको नीति लिन आग्रह गरे ।

नाराका अध्यक्ष कमलबहादुर ठकुरीका अनुसार यो महोत्सव नेपालको ५० वर्षे जलयात्रा इतिहासको उत्सवसमेत हो।

सन् १९६० को दशकदेखि शुरू भएको नेपालमा र्याफ्टिङको यात्रा सन् १९७५ मा व्यावसायिक रूपमा विस्तार भएको थियो । त्यसयता नदीले साहसिक पर्यटनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

आयोजकका अनुसार महोत्सवअन्तर्गत पहिलो दिन सय भन्दा बढी कायकरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो दिन नकआउट चरण सञ्चालन हुनेछ । तेस्रो दिन र्याफ्टिङ सत्र आयोजना गरिनेछ ।

साथै नेपालमा व्यावसायिक र्याफ्टिङको शुरूआत गर्ने संस्थापकलाई विशेष सम्मान गरिने कार्यक्रमसमेत तय गरिएको छ ।

यस पटकको महोत्सवले प्रतिस्पर्धाभन्दा पर गएर ‘नदी जोगाऔँ, पर्यटन बढाऔँ’ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ