arrow

टुँडिखेलमा विदेशी सैनिकको प्रदर्शन मित्रताको प्रतीक, नकारात्मक मानसिकता नराखौँ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
ramprasad-bhandari-s.jpg

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतीकका रूपमा चित्रण गरेका छन्। सोमबार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्।

विभिन्न देशका सैनिकहरूबीच हुने तालिम आदानप्रदान र मैत्रीपूर्ण प्रदर्शनलाई नकारात्मक रूपमा हेर्न नहुने उनले बताए। भण्डारीले सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले आफ्नो कला प्रदर्शन गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू मित्र शक्तिहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र अनुभव साटासाट गर्न विश्वभरि नै हुने गरेको जानकारी दिए।

सामाजिक सञ्जालमा केही व्यक्ति र राजनीतिक दलका नेताहरूले अमेरिकी सैनिकको नाचलाई लिएर सरकारको आलोचना गरेको प्रति लक्षित गर्दै भण्डारीले यसलाई संकुचित मानसिकताको उपज भएको बताए। विदेशी सेनाको उपस्थितिलाई लिएर ‘खबरदार’ भन्दै गरिएको टिप्पणीहरूतर्फ संकेत गर्दै उनले देशका जिम्मेवार व्यक्तिहरूले पनि यस्ता विषयमा नकारात्मक दृष्टिकोण राख्नु दुःखद् भएको टिप्पणी गरे। कुन देशप्रतिको कस्तो दृष्टिकोण छ भन्ने कुराले मात्र यस्ता विषयलाई विवादित बनाइएको उनको तर्क थियो।

उनले भने, "अहिले सामाजिक सञ्जालमा अमेरिकी सैनिक टुँडिखेलमा नाचेको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी आएका छन्। के अमेरिकी सैनिक नाच्नु नै अपराध हो र? त्यो कार्यक्रममा म पनि उपस्थित थिएँ। हिजो सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले आफ्नो प्रदर्शन गरेका हुन्। जुन मित्र शक्तिहरूबीच तालिम आदानप्रदान हुन्छ, उनीहरूले यस्ता प्रदर्शन गर्नु विश्वभरिको प्रचलन हो। तर हाम्रो मानसिकता कुन देशप्रति कस्तो छ भन्ने सोचले यसलाई ग्रस्त पारेको छ।"

देशका ठूला नेताहरूले समेत सामाजिक सञ्जालमा सरकारले बदमासी गर्‍यो भन्दै लेखेकोप्रति आश्चर्य प्रकट गर्दै भण्डारीले सैन्य कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूलाई बुझेर मात्र धारणा सार्वजनिक गर्न सरोकारवालाहरूलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ