निर्वाचनमा धनको दबदबा लोकतन्त्रका लागि घातक: कार्यवाहक प्रमुख आयुक्त भण्डारी [भिडियो]
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्ठापूर्वक सम्पन्न गर्न सबै सरोकारवालाहरू इमानदार हुनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
633
Shares
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा बढ्दो खर्च र यसको व्यापारीकरणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। निर्वाचन खर्च व्यवस्थापन र महिला सहभागितासम्बन्धी राजनीतिक दलका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्ठापूर्वक सम्पन्न गर्न सबै सरोकारवालाहरू इमानदार हुनुपर्नेमा जोड दिए।
नेपालको निर्वाचनमा धनको प्रभाव इतिहासदेखि नै रहेको उल्लेख गर्दै भण्डारीले २०३६ सालको जनमत सङ्ग्रहबाटै राजनीतिमा व्यापारीकरण छिरेको स्मरण गराए। उनले भने, "त्यसबेला केही व्यवसायीलाई सर्पको छाला बिक्री गर्ने अनुमति दिएर राजनीतिमा व्यापारीकरण सुरु गरिएको थियो, जुन अहिले खर्चको होडबाजीका रूपमा विकराल बनेको छ।"
भण्डारीले विगत र वर्तमानको खर्चिलो प्रवृत्तिको तुलना गर्दै २०४३ सालको निर्वाचनको उदाहरण दिए। उनले मकवानपुरका जनपक्षीय नेता रूपचन्द्र विष्टले 'तँ मलाई भोट दिन्छस् भने २ रुपैयाँ दे' भन्दै जनताकै पैसाबाट चुनाव लडेर जितेको स्मरण गरे। तर, आज कतिपय उम्मेदवारले ६ करोड नभई चुनावै लड्न सकिन्न भन्नुले शुद्ध राजनीति नजन्माउने उनको तर्क थियो।
निर्वाचन खर्चलाई पारदर्शी बनाउन आयोगले बैंकिङ च्यानल अनिवार्य गरेको प्रष्ट पार्दै भण्डारीले उम्मेदवारहरूलाई 'सेतो पैसा' मात्र खर्च गर्न आग्रह गरे। कालो धनको प्रयोग रोक्न यो कदम चालिएको र आचारसंहिता दलहरूकै सल्लाहमा बनाइएकाले यसको पालना गर्नुपर्ने उनले बताए। नेताहरूले बैठकमा कडाइ गर्नुपर्छ भन्ने तर व्यवहारमा आयोगले पेल्यो भनी दोहोरो चरित्र देखाउने गरेको उनको गुनासो थियो।
भण्डारीले महिला सहभागिताका सवालमा दलहरूको 'कथनी र करनी' मा आकाश-जमिनको अन्तर रहेको टिप्पणी गरे। आयोगसँगको छलफलमा महिलालाई ५० प्रतिशत सिट दिने प्रतिबद्धता जनाउने दलहरूले व्यवहारमा ३३ प्रतिशत पुर्याउन पनि आनाकानी गर्ने गरेको उनले बताए। महिलालाई खुला प्रतिस्पर्धामा अवसर दिनुको साटो नातागोताका आधारमा समानुपातिक सूचीमा मात्र सीमित राख्ने प्रवृत्तिको उनले आलोचना गरे।
आगामी निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने र आयोग 'सजायमुखी' ढङ्गले अगाडि बढ्ने उनले चेतावनी दिए। यस्तै, सैनिक दिवसमा अमेरिकी सैनिक नाचेको विषयलाई लिएर सामाजिक सञ्जालमा आएका टिप्पणीहरूबारे प्रष्टीकरण दिँदै उनले यो मित्र राष्ट्रहरूबीचको कुटनीतिक र मैत्रीपूर्ण प्रचलन मात्र भएको बताए।
अन्त्यमा, भण्डारीले निर्वाचनलाई समाजमा शान्ति र अनुशासन कायम गर्ने सूत्रका रूपमा व्याख्या गर्दै असीमित खर्च गरेर माहोल उत्तेजित नबनाउन अपिल गरे। यदि निर्वाचनबाट सही प्रतिनिधि चुनिएनन् भने फेरि विद्रोह जन्मिन सक्ने भन्दै उनले राजनीतिलाई व्यापारीकरणबाट जोगाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताए।