arrow

सात महिनाको वैदेशिक व्यापार: नौ खर्ब ५५ अर्ब व्यापार घाटा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
Bhansar bibhag.jpg

काठमाडौँ ।  भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापारको स्थिति निकै असन्तुलित देखिएको छ।

समीक्षा अवधिमा मुलुकले कुल १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र मात्र १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाखको निर्यात गरेको छ। यसले गर्दा सात महिनाकै अवधिमा देशले ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ बराबरको ठुलो व्यापार घाटा बेहोर्नु परेको छ।

छिमेकी मुलुकहरूसँगको व्यापारमा पनि घाटाको खाडल गहिरो छ। भारतसँग ६ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र १ खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा ४ खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ व्यापार घाटा भएको छ।

चीनसँगको व्यापारिक अवस्था झन् चिन्ताजनक छ, जहाँ २ खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात हुँदा निर्यात भने मात्र ९० करोड १ लाखमा खुम्चिएको छ। अन्य मुलुकहरू जस्तै अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि नेपालको अर्बौँको व्यापार घाटा रहेको छ। यद्यपि, रोमानिया, नर्वे र आइसल्याण्ड जस्ता केही देशसँग भने न्यून मात्रामा व्यापार नाफा देखिएको छ।

आयाततर्फ पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी देखिएको छ। विभागका अनुसार सात महिनामा झण्डै ७० अर्बको डिजेल, ३८ अर्बको पेट्रोल र ३१ अर्ब भन्दा बढीको खाना पकाउने ग्यास आयात भएको छ।

यसका साथै फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सोयाबिन तेल र सुनको आयात पनि उच्च रहेको छ। निर्याततर्फ भने प्रशोधित सोयाबिन तेलले मुख्य हिस्सा ओगटेको छ भने अलैँची, सूर्यमुखी तेल र कार्पेट नेपालबाट विदेशिने प्रमुख वस्तुका रूपमा रहेका छन्। समग्रमा, बढ्दो आयात र कमजोर निर्यातका कारण नेपालको अर्थतन्त्रमा व्यापार घाटाको दबाब निरन्तर बढिरहेको तथ्याङ्कले स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ