रौतहटको गौरमा पुनः निषेधाज्ञा जारी, स्थिति तनावपूर्ण
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
769
Shares
काठमाडौँ। रौतहटको गौर नगरपालिका क्षेत्रमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले पुनः निषेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश लागु गरिएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको जानकारी दिए। प्रशासनका अनुसार गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि प्रशासनले शनिबार दिउँसो १:०० बजेदेखि आज बिहान ६:३० बजेसम्म निषेधाज्ञा लगाएको थियो।
बिहान ६:३० देखि ८:३० सम्म दुई घण्टाका लागि निषेधाज्ञा खुकुलो बनाइए पनि स्थिति पुनः संवेदनशील देखिएपछि प्रशासनले पुनः कडा आदेश जारी गरेको हो। निषेधित क्षेत्रमा भेला हुन, जुलुस निकाल्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ।