रौतहटमा चिकित्सा विज्ञानकै दुर्लभ घटना, पानीको थैलीसहित शिशुको जन्म
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
425
Shares
काठमाडौँ । रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ। अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली (एम्नियोटिक थैली) नफुटिकन, त्यसैभित्र पूर्ण रूपमा ढाकिएको अवस्थामा प्राकृतिक रूपमा शिशुलाई जन्म दिएकी छन्। चिकित्सा क्षेत्रमा यस प्रकारको प्रसवलाई ‘एन काउल बर्थ’ भनिन्छ।
अस्पतालका प्रमुख डा. सुवास चौधरीका अनुसार यो घटना चिकित्सा विज्ञानमा निकै विरलै देख्न पाइन्छ। सामान्यतया संसारभरका करिब ८० हजार जन्ममध्ये एक पटक मात्र यस्तो विरल संयोग हुने चिकित्सा क्षेत्रको तथ्याङ्कले देखाउँछ।
महिलाको प्रसव पीडा सुरु भएपछि वा बच्चा जन्मिने प्रक्रिया अगाडि बढ्दै जाँदा पाठेघरभित्र रहेको पानीको थैली आफैँ फुट्छ, जसलाई सामान्य बोलीचालीमा ‘पानी फुट्नु’ भनिन्छ र थैली फुटेपछि मात्र बच्चा बाहिर आउँछ। तर ‘एन काउल’ जन्ममा भने सो झिल्ली कत्ति पनि नफुटिकन बच्चा पानीसहितको थैलीभित्रै सुरक्षित रहेर बाहिर निस्कन्छ। जन्मिँदा बच्चा दुरुस्तै एउटा पानी भरिएको सानो बेलुन वा अण्डाकार पारदर्शी थैलीभित्र हातगोडा चलाइरहेको अवस्थामा प्रत्यक्ष देखिन्छ। शिशु जन्मिइसकेपछि चिकित्सकहरूले निकै सावधानीपूर्वक उक्त झिल्लीलाई च्यातेर बच्चालाई बाहिर निकाल्छन् र श्वासप्रश्वास प्रक्रिया सुरु गराउँछन्।
नेपाली तथा विश्व समाजमा परापूर्व कालदेखि नै यसरी झिल्लीसहित जन्मिएका बच्चालाई दैवी शक्तिको प्रतीक वा असाधारण भाग्यशाली मान्ने प्रचलन र लोकविश्वास रहिआएको छ।
घटनाबारे प्रकाश पार्दै डा. सुवास चौधरीले यो घटना चन्द्रपुर अस्पताल र रौतहट क्षेत्रकै लागि एक ऐतिहासिक एवं सुखद क्षण भएको बताए। प्रसवको क्रममा झिल्ली फुट्न नदिई शिशुलाई सकुशल थैलीसहित बाहिर निकाल्नु निकै संवेदनशील र चुनौतीपूर्ण कार्य भए पनि अस्पतालको कुशल प्रसूति टोली र आधुनिक उपकरणको सहयोगले यो सुरक्षित रूपमा सम्पन्न भएको उनले जानकारी दिए। हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य र स्वस्थ रहेको छ।
यो अद्भुत दृश्य देखेपछि अस्पतालका स्वास्थ्यकर्मी, सेवाग्राही र शिशुका परिवारजनमा निकै उत्साह छाएको छ। रौतहट जस्तो क्षेत्रमा रहेको स्थानीय अस्पतालले यस्तो विरल र संवेदनशील घटनालाई सफलतापूर्वक व्यवस्थापन गरेर आफ्नो स्वास्थ्य सेवाको गुणस्तर र विश्वसनीयता पुनः प्रमाणित गरेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।