arrow

एनआईसी एशिया बैङ्कले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
nic-asia-pan-email-address-update-portal-march-2026.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र विद्युतीय डाक ठेगाना (इमेल) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैङ्कले जनाएअनुसार, खाताबाट काटिएको कर विवरणलाई आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा जोड्नका लागि स्थायी लेखा नम्बर अनिवार्य रहेको छ । यसका लागि ग्राहकहरूले बैङ्कको वेब पोर्टल panupdate.nicasiabank.com मार्फत वा एन आई सी एशिया मोबाइल बैङ्किङ एप (मो बैङ्क) मा रहेको ‘प्यान अद्यावधिक’ विकल्प प्रयोग गरी सजिलै आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्नेछन् । साथै, बैङ्कका कुनै पनि शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

स्थायी लेखा नम्बर अद्यावधिक भएपछि निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करको विद्युतीय कर कट्टी विवरण (ई-टिडिएस) मा स्वतः प्रविष्ट हुन्छ र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा मिलान गर्छ। यसले ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा बैङ्कसम्म धाउनुपर्ने झन्झट पूर्ण रूपमा हट्ने बैङ्कले विश्वास व्यक्त गरेको छ।

यदि स्थायी लेखा नम्बर अद्यावधिक नगर्दा विद्युतीय कर कट्टी विवरणमा ब्याजदर दाखिला नभएमा वा थप कर समायोजन गर्नुपरेमा बैङ्क जिम्मेवार नहुने पनि बैङ्कले स्पष्ट पारेको छ ।

यसै गरी, बैङ्कले ग्राहकहरूलाई खातामा विद्युतीय डाक ठेगाना (इमेल) अद्यावधिक गर्न पनि आग्रह गरेको छ । यसका लागि बैङ्कको भिडियो पहिचान प्रमाणीकरण (भिडियो केवाईसी) https://www.nicasiabank.com/video-kyc/ प्रक्रिया वा मोबाइल बैङ्किङ एपको ‘मेरो प्रोफाइल’ मा गएर ‘इमेल परिवर्तन’ विकल्प छनोट गर्न सकिन्छ । शाखा कार्यालयबाट पनि यो सेवा उपलब्ध छ।

पहिले नै स्थायी लेखा नम्बर उपलब्ध गराएर पनि कर कट्टी विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएका ग्राहकहरूले नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्नेछन्।
बैङ्कले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यी दुवै जानकारी अद्यावधिक गर्न अनुरोध गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ