arrow

तीन वडामा दादुरा सङ्क्रमण देखिएपछि त्रासमा गाउँले

पाँचमा पुष्टि, ७४ मा लक्षण, छ हजार ७६३ जनालाई दादुरा विरुद्धको खोप लगाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
dadura.jpg
तस्बिर : फाइल

ढोरपाटन । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ । 

पछिल्लो समय बिरामी बढ्न थालेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन निर्माण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार सङ्क्रमित बिरामीको आइसोलेसनमा राखेर उपचार शुरू गरिएको छ ।

ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँका स्थानीयमा त्रास फैलिएको बताउँदै घिमिरेले आवश्यक सचेतना अपनाउन सबैलाई आग्रह गरे । कसैमा शङ्कास्पद लक्षण देखा परे तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै उनले सङ्क्रमण रोक्न खोप अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिए । 

उनका अनुसार पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भइसकेको छ भने १४ जनाको नमूना परीक्षणका लागि राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा स्वाब पठाइएको छ । दशदेखि २० वर्ष उमेर समूहका व्यक्तिमा शङ्कास्पद लक्षण देखिएको घिमिरेले बताए ।  

उनले भने, “शङ्कास्पद बिरामीको खोजी र उपचारलाई तीव्रता दिएका छौँ । बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा बिरामीहरूको उपचार भइरहेको छ, केही बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केहीको उपचार जारी छ ।”

यही फागुन ८ गते गाउँका केही स्थानमा सङ्क्रमणको लक्षण देखिएपछि स्वास्थ्यकर्मी गाउँमा पुगेर खोजतलास गर्नुका साथै जोखिम पहिचान, सञ्चार तथा स्वास्थ्य सचेतना र उपचार तथा निगरानी बढाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए । यस क्षेत्रमा रहेका छ हजार ७६३ जनालाई दादुरा विरुद्धको खोप लगाइने उनले बताए । 

फागुन २९ गतेदेखि आगामी चैत्र १ गतेसम्म यहाँ दादुराविरुद्धको विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख शर्माले बताए । गाउँभरि सङ्क्रमण फैलिएपछि यस क्षेत्रका विद्यालसमेत बन्द गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ