पश्चिम क्षेत्रबाट वर्षा शुरू, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
981
Shares
काठमाडौँ । नेपालमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज बिहानैदेखि देशका विभिन्न भागमा वर्षा र हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली पश्चिमबाट सुरु भई क्रमशः पूर्वतर्फ सर्दै गइरहेको छ, जसको प्रभाव अहिले चितवनसम्म आइपुगेको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिमका डडेलधुरा, डोटी, बाजुरादेखि लुम्बिनी र गण्डकी प्रदेशका गुल्मी, कास्की, तनहुँ र पाल्पा लगायतका जिल्लामा बिहानैदेखि वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। हाल मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली छ भने कोसी र गण्डकीमा आंशिक बादल लागेको छ।
आज दिनभर कोसी, बागमती र गण्डकीका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यो मौसमी प्रणाली अझै केही दिन कायम रहने देखिएको छ।