काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन्। खोप लगाउनेहरूमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सुरु गरिएको यो अभियानमा मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१.१ प्रतिशत प्रगति हासिल भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताएका छन्। स्थानीय तहहरूसँगको समन्वयका कारण अभियान प्रभावकारी देखिएको कार्यालयले उल्लेख गरेको छ।
जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका सबै क्षेत्रमा खोप सेवा नियमित छ। विशेषगरी मध्यविन्दु नगरपालिकामा ४९.८ प्रतिशत र बौदिकाली गाउँपालिकामा ४७ प्रतिशत प्रगति देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्ला वर्षहरूमा जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि ३५ वर्ष माथिका करिब १ लाख ५० हजार नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि ५ गतेसम्म यो विशेष अभियान चलाइएको हो।
जिल्लामा जापानिज इन्सेफलाइटिसको अवस्था निकै गम्भीर देखिएको छ। चालु आर्थिक वर्षमा मात्रै १५ जनामा सङ्क्रमण पुष्टि भएको र तीमध्ये ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा ७ जना सङ्क्रमितमध्ये ५ जनाको र आव २०८०/८१ मा ८ जनामध्ये १ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ।
स्वास्थ्यकर्मीहरूले सङ्क्रमणको जोखिम कम गर्न लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकैको खोप केन्द्रमा गई अनिवार्य खोप लगाउन आग्रह गरेका छन्। खोप अभियान प्रभावकारी रूपमा अघि बढिरहेकाले तोकिएको लक्ष्य सजिलै पूरा हुने विश्वास स्वास्थ्य कार्यालयले व्यक्त गरेको छ।