काभ्रे र सिन्धुपाल्चोकमा 'बर्डफ्लु अलर्ट', नाकाहरूमा परीक्षण शुरू
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
753
Shares
काठमाडौं । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लू रोगको सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइने भएको छ। देशका विभिन्न स्थानमा पालिएका कुखुरामा यो रोग देखिएपछि दुवै जिल्लाका सरोकारवालाहरूले सम्भावित जोखिमलाई मध्यनजर गर्दै परीक्षण र निगरानी बढाउन प्रशासनलाई सुझाव दिएका छन्। जिल्ला पशुसेवा कार्यालय धुलिखेलले रोगको सङ्क्रमण रोक्न सुरक्षाका उपायहरूलाई कडा पार्ने निर्णय गरेको छ।
यस अभियानअन्तर्गत विशेषगरी तराई क्षेत्रबाट काभ्रेपलाञ्चोक प्रवेश गर्ने मुख्य नाका मङ्गलटारमा निगरानीलाई निकै कडा बनाइने भएको छ। साथै, राजधानीको पूर्वी नाका साँगा र नाला लगायतका क्षेत्रहरूमा पनि पन्छीहरूको आवतजावतमा विशेष जाँच गरिनेछ। पशु सेवा कार्यालयले कुखुरा फार्महरूको नियमित निरीक्षण गर्ने र बर्डफ्लुको जोखिम तथा यसका असरबारे जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार मङ्गलटार नाकामा थप प्राविधिक जनशक्ति परिचालन गरी पूर्वी क्षेत्रबाट आउने कुखुराको नमुना तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। पशु कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरले पनि अन्य निकायहरूसँग समन्वय गरी रोग नियन्त्रणका लागि आवश्यक सबै तयारी पुरा गरिएको बताए। यद्यपि, हालसम्म यी दुई जिल्लामा बर्डफ्लु भित्रिने सम्भावना न्यून रहे पनि पूर्वसावधानीका लागि यो कदम चालिएको हो।