काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साह बालेनले कोशी प्रदेशका सांसदहरूसँग प्रदेश र निर्वाचन क्षेत्रगत समस्याहरूको समाधानबारे छलफल गरेका छन्।
सोमबार सिंहदरबारमा भएको यस बैठकमा सांसदहरूले आफ्नो क्षेत्रका तत्कालीन र दीर्घकालीन समस्याहरू र समाधानका सम्भावित उपायहरू प्रस्तुत गरेका थिए।
झापा-२ की सांसद ईन्दिरा रानामगरले विद्यार्थी र कृषकले भोगिरहेका समस्याबारे प्रकाश पार्दै स्रोतको सीमितता भए पनि समाधान उन्मुख पहल हुने आश्वासन पाइएको जानकारी दिइन्।
प्रधानमन्त्री साहले सीमित बजेटको कारण प्राथमिकताका आधारमा समस्याहरूको समाधान अघि बढाउने बताएको उनले जानकारी दिइन्।
छलफलमार्फत प्रदेशका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानका लागि रणनीतिक योजना बनाउने तयारी अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेका अनुसार प्रधानमन्त्री साहले तत्काल समाधान गर्न सकिने समस्या र प्राथमिकतामा राख्नुपर्ने विषयबारे सांसदहरूसँग जिज्ञासा राखेका थिए।
सांसदहरूले आफ्ना क्षेत्रका पुल, सिंचाई, तटबन्ध र विकास निर्माणसम्बन्धी समस्याबारे जानकारी गराएका छन्।