arrow

हर्मुज जलमार्गमा इरानी अवरोध, ऊर्जा बजार जोगाउन सात शक्तिशाली राष्ट्र एकै ठाउँमा

रणनीतिक भण्डार खोल्ने तयारी, रूसमाथिको प्रतिबन्ध कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
g7-ukrine.jpg

काठमाडौँ । सात राष्ट्रको समूह (जी–७) ले मध्यपूर्वमा जारी तनाव र इरानसँगको द्वन्द्वका कारण खलबलिएको विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउन ठोस कदम चाल्ने घोषणा गरेको छ। सोमबार सम्पन्न अर्थमन्त्री, ऊर्जामन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको भर्चुअल बैठकपछि यस्तो प्रतिबद्धता सार्वजनिक भएको हो।

पश्चिम एसियामा चर्किएको द्वन्द्व र इरानी सेनाले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग अवरुद्ध गरेपछि कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ। यस आपूर्ति अवरोधलाई सम्बोधन गर्न जी–७ ले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर पेट्रोलियम पदार्थको सहज प्रवाह सुनिश्चित गर्ने र अनुचित निर्यात प्रतिबन्ध नलगाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

जापानका उद्योग मन्त्री रियोसेई अकाजावाका अनुसार अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी सँगको समन्वयमा रणनीतिक तेल भण्डारबाट थप आपूर्ति बजारमा पठाउने तयारी भइरहेको छ। 

यस्तै, जापानका अर्थमन्त्री सात्सुकी कातायामाले आकाशिएको तेलको मूल्यले विदेशी मुद्रा बजारलाई अस्थिर बनाउनुका साथै जनजीवन र समग्र विश्व अर्थतन्त्रलाई नै गम्भीर खतरामा पार्न सक्ने चेतावनी दिएका छन्। 

बैठकले रुस–युक्रेन युद्धका कारण रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरूलाई समेत निरन्तरता दिने निर्णय गरेको क्योडो न्यूजले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ