काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा बुधबार पुनः भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकै दिन प्रतितोला रु ७,४०० ले बढेको छ भने चाँदीको मूल्यमा पनि रु १०० को वृद्धि देखिएको छ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २,९७,६०० पुगेर नयाँ रेकर्ड कायम गरेको छ। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु ४,९४५ कायम भएको छ।
यस साता सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु २,९०,२०० मा कारोबार भएको थियो। सोमबार केही घटेर रु २,८३,५०० मा झरेको सुनको मूल्य त्यसपछिका दुई दिनमा ह्वात्तै बढेको हो। गत आइतबार भने सुन प्रतितोला रु २,८६,००० र चाँदी रु ४,७२० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उछाल आएको छ। आज विश्व बजारमा सुन प्रतिऔँस ४,७०५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। विश्वव्यापी आर्थिक अनिश्चितता र क्षेत्रीय तनावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको विश्लेषण छ।