arrow

सर्वदलीय बैठकमा सहमति

सभामुखको निर्वाचन चैत २२ मा, २० गते उम्मेदवारी मनोनयन [भिडियो]

बिहीबार बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पेश हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
sarbadaliya-baithak-.jpg

काठमाडौँ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आगामी चैत २२ गते निर्वाचन हुने भएको छ। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको कार्यतालिकामा सहमति जुटाएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते मतदान गर्ने गरी दलहरूबीच समझदारी बनेको छ। भोलि बिहीबार बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पेस हुनेछ।

बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद् नियमावलीका आधारमा सदन सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। भोलिको बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन र शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।

यस पटकको पहिलो बैठकमा एक विशेष कार्यसूची पनि थपिएको छ। गत भदौ अन्तिम साता भएको 'जेन-जी'आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रस्तावमा सबै दलहरू सहमत भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी प्रमुख सचेतक खुश्बु ओलीले संसद्को नियमावली संशोधनमा सबै दल सकारात्मक रहेको बताइन्। उनले कार्यव्यवस्था परामर्श समितिमा सबै दलको समान सहभागिता हुनुपर्ने धारणा राख्दै राप्रपाले सदनमा समन्वय र सहकार्यसहित प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरिन्।

नयाँ निर्वाचनपछिको यो पहिलो अधिवेशन भएकाले दलहरूबीच शक्ति बाँडफाँट र संसदीय प्रक्रियालाई लिएर घनिभूत छलफल भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ