खातामा प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैङ्कको अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
533
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैङ्कका अनुसार ग्राहकहरूबाट काटिएको कर कट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा सञ्चालित स्थायी लेखा नम्बर प्रणालीमा जोड्न प्यान अत्यावश्यक छ। यसैले ग्राहकहरूले बैङ्कको पोर्टल panupdate.nicasiabank.com मा गएर वा मोबाइल बैङ्किङ एप (एनआईसी एशिया मोबैङ्क) मा रहेको “प्यान अपडेट” विकल्पमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैङ्कले जनाएको छ। यसबाहेक आफूलाई पायक पर्ने बैङ्कको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउन प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि कर कट्टीको विवरण (ई-टीडीएस) सोही प्यानमा प्रविष्ट हुन्छ र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा कर कट्टी विवरण मिलान गर्दछ। यसले ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा बैङ्कसम्म धाउनुपर्ने झन्झट अन्त्य हुने बैङ्कले विश्वास लिएको छ।
बैङ्कले स्पष्ट पार्दै भनेको छ – प्यान अद्यावधिक नगरेका कारण ई-टीडीएसमा ब्याज कर दाखिला नभएमा वा पछि थप समायोजन गर्नुपरेमा बैङ्क जिम्मेवार हुने छैन।
साथै, बैङ्कले ग्राहकहरूलाई खातामा इमेल ठेगाना अद्यावधिक गर्न पनि अनुरोध गरेको छ। यसका लागि बैङ्कको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ मा गएर वा मोबाइल बैङ्किङ एप (एनआईसी एशिया मोबैङ्क) मा “माई प्रोफाइल” मा ट्याप गरी “चेन्ज इमेल” विकल्प छनोट गरेर इमेल ठेगाना अद्यावधिक गर्न सकिन्छ। शाखा कार्यालयबाट पनि इमेल ठेगाना अद्यावधिक गर्न सकिने व्यवस्था छ।
यसअघि प्यान उपलब्ध गराएर पनि कर कट्टी विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बर १६६०-०१-७७७७१ र ०१-५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैङ्कले अनुरोध गरेको छ।
यो अद्यावधिकले ग्राहकहरूलाई करसम्बन्धी काममा थप सहजता प्रदान गर्ने र बैङ्किङ सेवालाई थप प्रविधिमैत्री बनाउने बैङ्कको लक्ष्य रहेको छ।