arrow

प्रतिनिधिसभामा प्रतिपक्षी दलको भूमिका, रचनात्मक सहयोग र सुशासनमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
samsad-bhawan-newss.jpg

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएको जिम्मेवारीलाई पूर्ण जवाफदेहिता र परिपक्व ढङ्गले सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्। रासससँगको कुराकानीमा उनीहरूले समग्र देश र जनताको हितमा तर्जुमा हुने कानुन निर्माणदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा सत्तापक्षसँग हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरेका छन्। 

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले यस पटक सदनमा सत्ता र प्रतिपक्षको परम्परागत भावनाभन्दा माथि उठेर देशको समृद्धि र जनकल्याणका लागि मिलेर काम गर्ने बताएका छन्। उनले सरकारका कामको गुण र दोषका आधारमा समर्थन वा आलोचना गर्ने उल्लेख गर्दै असल कामका लागि रचनात्मक सल्लाह दिने र विरोधका लागि मात्र विरोध गर्ने शैली कसैले पनि अपनाउन नहुनेमा जोड दिएका छन्।

त्यसैगरी प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरत खड्काले कांग्रेस लोकतान्त्रिक मूल्य मान्यतालाई शिरोधार्य गर्ने पार्टी भएकाले संसद्मा परिपक्व र जिम्मेवार भएर प्रस्तुत हुने बताएका छन्। विगतमा सरकार र पार्टी सञ्चालन गर्दा भएका कमजोरीका कारण मतदाताले दिएको दण्डलाई स्वीकार गर्दै कांग्रेसले आफूलाई समयसापेक्ष र परिस्कृत बनाउने उनको भनाइ छ। 

जनताले दिएको जनादेशअनुसार जवाफदेहिताका साथ सदनमा प्रस्तुत हुने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। अर्को प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले विधिको शासन र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउँदै किसानलाई राहत, युवा रोजगारी र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण जस्ता विषयलाई आगामी अधिवेशनको मुख्य एजेन्डा बनाइने जानकारी दिएका छन्।

सङ्घीय संसद्का पूर्वमहासचिव डा. भरतराज गौतमले वर्तमान सरकार र संसद्लाई गरिबीको रेखामुनि रहेको ठूलो जनसङ्ख्यालाई माथि उकास्न आर्थिक समृद्धि र विकासका ठोस योजना बनाउन सुझाव दिएका छन्। उनले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै आगामी बजेटमार्फत विकास र आर्थिक एजेन्डालाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। आर्थिक विकास विना अन्य क्षेत्रमा सफलता प्राप्त गर्न कठिन हुने भएकाले संसद्ले यस पक्षमा बढी ध्यान दिनुपर्ने उनको विश्लेषण छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि आज दिउँसोदेखि नयाँ संसद्को पहिलो अधिवेशन औपचारिक रूपमा प्रारम्भ हुँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ