arrow

ओली र लेखकको पक्राउप्रति प्रतिनिधि सभामा एमालेको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
guru-baral-uml.jpg

काठमाडौँ ।  नेकपा (एमाले) ले आफ्ना पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढङ्गले बन्दी बनाएको भन्दै कडा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकको प्रारम्भमै विशेष समय लिएर बोल्दै सांसद गुरु बरालले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउ पूर्णतः असंवैधानिक भएको भन्दै विरोध प्रकट गरे। 

उनले वर्तमान सरकार स्वयं संविधानविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै संविधानले हरेक नागरिकलाई प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने र समानताको हकको गम्भीर उल्लंघन भएको दाबी गरे। नेताद्वय ओली र लेखकलाई तत्काल रिहा गर्न माग गर्दै सांसद बरालले सरकारलाई संविधानको मर्म र भावनाअनुसार चल्न सभामुखमार्फत ध्यानाकर्षण गराए।

सांसद बरालले आन्दोलनका क्रममा राज्यको दमनबाट एमालेका सांसदहरू समेत घाइते भएको उल्लेख गर्दै उनीहरूको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे। देशमा संविधानको खिलापमा गतिविधिहरू भइरहेको भन्दै उनले राजनीतिक प्रतिशोधका आधारमा गरिएका यस्ता पक्राउले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाएको टिप्पणी गरे। 

२०८२ चैत १४ गते शनिबार बिहानै आफ्नै निवासबाट नियन्त्रणमा लिइएका ओली र लेखकको पक्राउले राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ। एमालेले यस कदमलाई बालेन्द्र शाह नेतृत्वको सरकारको 'तानाशाही' प्रवृत्तिका रूपमा व्याख्या गर्दै सदन र सडक दुवै माध्यमबाट दबाब दिने संकेत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ