arrow

हिंसात्मक संघर्षको पुनरावृत्ति नहोस्, इमानको पसिना बगाउने संकल्प गरौँ: भीष्मराज आङ्देम्बे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
bishmaraj-aangdembey.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहासबाट पाठ सिक्दै अबका दिनमा कुनै पनि प्रकारको हिंसात्मक संघर्षको पुनरावृत्ति हुन नदिने संकल्प गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आगामी दिनमा नेपाली जनताले फेरि कहिल्यै रगत बगाउनु नपरोस् भन्ने साझा प्रतिबद्धता जनाउन सबै दलहरूलाई आग्रह गरे। 

राष्ट्र निर्माणको यात्रामा विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यागको स्मरण गर्दै उनले जनतामा नयाँ आशा र विश्वास जगाउनुपर्नेमा जोड दिए। फरक-फरक विचार र आस्था बोके पनि सबै सांसदहरू एउटै थलोमा उभिएको उल्लेख गर्दै उनले दलगत भिन्नताभन्दा माथि उठेर राष्ट्रप्रति इमानदार बन्न र ‘इमानको पसिना बगाउने’ प्रण गर्न आह्वान गरे।

नेता आङ्देम्बेले विगतका ३५ वर्षमा केही पनि भएन भन्ने नकारात्मक भाष्यलाई चिर्न आवश्यक रहेको भन्दै १० वर्षे जनयुद्ध, विनाशकारी भूकम्प र कोरोना महामारी जस्ता प्रतिकूल समयमा पनि देशले विकासको गति समातेको दाबी गरे। उनले भएका कामहरूको सही मूल्याङ्कन गर्दै बाँकी रहेका धेरै कामहरू पूरा गर्नुपर्ने बताए। संसदीय प्रणालीलाई विश्वकै उत्कृष्ट प्रणालीका रूपमा व्याख्या गर्दै उनले हिजो यस प्रणालीमाथि प्रहार गर्ने शक्तिहरू समेत आज संसद्मा शालीनताका साथ सहभागी हुनु सकारात्मक पक्ष भएको उल्लेख गरे। 

नेपाली कांग्रेस निरन्तरताको नवीनतामा विश्वास राख्ने पार्टी भएको बताउँदै उनले 'जेन-जी'विद्रोहलाई तार्किक निष्कर्षमा पुर्‍याउन आफ्नो दल प्रतिबद्ध रहेको र समयको मागअनुसार परिवर्तन हुन तयार रहेको स्पष्ट पारे। सदनमा बोल्दै उनले सबै एउटै डुङ्गामा सवार रहेकाले देश डुबे सबै सँगै डुब्ने र सफल भए सबै सँगै सफल हुने यथार्थलाई बिर्सन नहुने धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ