arrow

परिवर्तनलाई साथ दिन र खबरदारी गर्न कांग्रेस प्रतिबद्ध : आङ्देम्बे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
bhisma-raj-aangdanbe-19-12-082.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै दलभिन्न भए पनि देश एउटै भएकाले कसैले देशमा रगत बगाउन नपरोस् भन्ने संकल्प गर्नुपर्ने बताए ।

उनले भने, ‘डुबे सबै डुब्छौँ, उठे सबै उठ्छौँ । र सँगै उठ्छौँ । दल भिन्न होला तर देश एउटै हो । संकल्प गरौँ अब कसैले रगत बगाउन नपरोस् । फागुन २१ को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपालीहरूले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ ।’

आङ्देम्बेले कांग्रेसको इतिहास र नेतृत्व क्षमतामा गर्व व्यक्त गर्दै विपक्षी दलसँग सहकार्यको भावना व्यक्त गरे ।

‘कुनै बेला कांग्रेसले अपनाएको बाटोमा विपक्षमा खरो उभिएर अब दलहरूबाट देश चल्दैन भन्ने मित्रहरू पनि नयाँ दल खोलेर सबैभन्दा ठूलो दल बनेर यहीँ संसदमा हुनुहुन्छ । नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो दल बनेपनि पार्टीले बोकेको सिद्धान्त, विचार र बाटो अझ सबल र सफल बनेको छ,’ उनले भने ।

सांसदले कांग्रेसको निरन्तरतामा आधारित दृष्टिकोण र जिम्मेवार प्रतिपक्षको भूमिकामा जोड दिए ।

उनले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्याएको बताए ।

‘हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो कि त अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्यायो । त्यस हिसाबले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई पनि निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ । एक जिम्मेवार प्रतिपक्षी दलको रूपमा यो परिवर्तनलाई साथ दिन र खबरदारी गर्न कांग्रेस प्रतिवद्ध छ। परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गर्न चाहन्छु,’ उनले भने ।

उनले भदौ २३ र २४ को जेन-जी आन्दोलन र त्यसपछि गरिएको छानविन आयोगको प्रतिवेदनप्रति लक्षित गर्दै प्रश्न समेत गरे ।

उनले भने, ‘आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होइन । हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो । यो बेला त्यो खरानीलाई सम्झौँ, अनि संकल्प गरौँ यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरुन् । किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौँ भौतिक संरचना ? म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ ।’

उनले भदौ २३ गतेको घटना देख्ने २४ को नदेख्ने अनि कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने भन्दै प्रश्न गरे ।

‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने । कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने । यो प्रवृत्ति एकदम गलत छ । हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान गर्यो, कारवाहीको सिफारिस गर्यो । तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो । यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरूबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न,’ उनले अगाडि भने ।

उनले जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने भन्दै प्रश्न गरे ।

‘यस विषयमा सरकारले सुझबुझपुर्ण ढंगले कानून र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रस्तुत गरोस् । कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फँस्नुहुन्न भन्ने मान्यता बिगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ