arrow

राज्यले शिर झुकाएर माफी माग्दा दलित समुदायको शिर उच्च भयो: सांसद सुनार

शिक्षामा गुणस्तर र सामाजिक न्यायमा इमानदारिता चाहिन्छ : पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
khagendra-sunuwars.jpg

काठमाडौँ ।  बिहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् परिसर सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै विभिन्न दलका सांसदहरूले शिक्षा, विज्ञान प्रविधि र सामाजिक न्यायका विषयमा आफ्ना धारणा सार्वजनिक गरे। विशेष गरी देशको शैक्षिक अवस्था, अनुसन्धानको महत्त्व र दलित समुदायको आत्मसम्मानका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराए।

सांसद महावीर पुनले देश र जनताको हितका लागि गुणस्तरीय शिक्षा प्रणाली अपरिहार्य रहेको बताए। विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न विद्यालयदेखि विश्वविद्यालयसम्म उपयुक्त शैक्षिक वातावरण निर्माण हुनुपर्नेमा उनको जोड थियो।

पुनले भने, "कुनै व्यक्तिगत फाइदाका लागि होइन, भावी सन्ततिले राम्रो शिक्षा पाउन् भन्ने वातावरण विद्यालय र प्राविधिक शिक्षालयमा बन्नुपर्छ।" साथै, उनले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा सरकारको उदासीनताप्रति कडा टिप्पणी गरे। विगतका सरकारले यस विषयलाई उपेक्षा गरेको भन्दै आगामी सरकारले एउटा कानले सुनेर अर्को कानले उडाउने प्रवृत्ति त्यागेर गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।

संसद् बैठकमा दलित समुदायप्रति गरिएको औपचारिक क्षमायाचनालाई सांसदहरूले अभूतपूर्व र ऐतिहासिक घटनाका रूपमा चित्रण गरे। सांसद खगेन्द्र सुनारले हजारौँ वर्षदेखि विभेद र उत्पीडनमा परेका समुदायको सम्मानमा राज्यले शिर झुकाएर माफी माग्नुलाई ठूलो उपलब्धिको रूपमा लिए। उनले भने, "राज्यको तर्फबाट संसद्को रोष्ट्रममा उभिएर दुई हात जोडी माफी माग्नु भनेको उत्पीडित समुदायको शिर उच्च बनाउनु हो। यसका लागि म व्यक्तिगत रूपमा र सात लाख दलितका तर्फबाट पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलगायत सरकारलाई हृदयदेखि नै धन्यवाद दिन्छु।"

त्यस्तै, सांसद गणेश पराजुलीले पनि दलित समुदायसँगको औपचारिक क्षमायाचना इतिहासकै पहिलो र प्रशंसनीय कार्य भएको बताए। उनले सरकारले दलित समुदायसँग माफी माग्ने औपचारिक कार्यक्रम समेत तय गरिसकेको जानकारी दिँदै यसले सामाजिक रूपान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। समग्रमा सांसदहरूले राज्यले विगतका गल्ती स्वीकार गर्दै भविष्यका लागि सुस्पष्ट शैक्षिक र सामाजिक मार्गचित्र बनाउनुपर्ने धारणा राखे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ