प्रतिनिधि सभाको कार्यसूची तय गर्न सोमबार सर्वदलीय बैठक [भिडियो]
नियमावली मस्यौदा समिति गठनको तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
810
Shares
काठमाडौँ । नयाँ सभामुख चयनसँगै प्रतिनिधिसभाको नियमित कामकारबाहीले गति लिने भएको छ। संघीय संसद् सचिवालयले संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न भोलि सोमबार बिहान ११ बजे सर्वदलीय बैठक आह्वान गरेको छ। उक्त बैठकले सदनको कामलाई प्रभावकारी बनाउने र कार्यसूचीलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलिको बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ। यद्यपि, सर्वदलीय बैठकको छलफलपछि कार्यसूचीमा केही परिमार्जन हुन सक्ने उनले बताए। सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन २१ सदस्यीय 'कार्यव्यवस्था परामर्श समिति' गठन गर्ने विषयमा पनि परामर्श भइरहेको छ।
प्रतिनिधिसभा अहिले पुरानै नियमावलीका आधारमा सञ्चालन भइरहेकोमा अब नयाँ नियमावली बनाउने प्रक्रिया समेत सुरु हुने भएको छ। भोलिको बैठकले 'प्रतिनिधिसभा नियमावली मस्यौदा समिति' गठन गर्ने निर्णय गर्ने बुझिएको छ। प्रवक्ता गिरीका अनुसार नयाँ नियमावली नबन्दासम्म पनि आवश्यक काम गर्न कानुनी अभाव भने हुने छैन।
लामो समयदेखि ओझेलमा परेका जनसरोकारका मुद्दाहरू उठाउन अब सांसदहरूले शून्य र विशेष समय पाउनेछन्। सचिवालयले भोलिको बैठकबाटै शून्य र विशेष समय सुरु गर्न सकिने गरी सभामुखलाई ब्रिफिङ गरिसकेको छ। नयाँ नेतृत्वको आगमनसँगै संसद्को अन्योल हटेको र अब कानुन निर्माण तथा संसदीय निगरानीका कामहरू थप परिणाममुखी हुने विश्वास गरिएको छ।