कांग्रेस र निर्वाचनबारे एक शब्द नखर्चेका देउवा पक्राउ पुर्जीपछि विदेशबाटै फेसबुकबाट बोले
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
3.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान शुरू भएको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति प्रतिक्रिया दिएका छन् ।
देउवाले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका हुन् । उनले नेपालको कानूनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको स्पष्ट पारेका छन् ।
उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताका पक्षमा आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताएका छन् ।
देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन प्रवद्र्धनका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको पनि स्मरण गराएका छन् ।
हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । साथै समय क्रमसँगै वास्तविकता बाहिर आउने उल्लेख गर्दै अतिरञ्जित विवरणबाट भ्रमित नहुन सबैमा अपील गरेका छन् ।
नेपाली कांग्रेसमा भएको हेरफेर, विशेष महाधिवेशनमार्फत भएको नेतृत्व परिवर्तन र प्रतिनिधि सभाको निर्वाचनबारे एक शब्दसमेत नखर्चेका देउवा पक्राउ पुर्जी नै जारी भएपछि प्रतिक्रिय दिन बाध्य नभएका हुन् ।
उनले आफूमाथि पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानलाई सघाउने भन्दा पनि अख्तियार आयोग ऐन र भ्रष्टाचार निवारण ऐन आफू सत्तामा रहेका बेलामा आएकाले आफूले भ्रष्टाचार नगरेको तर्क गरेका हुन् ।
लोकतन्त्रका लागि योगदान गरेका नेता चुनावमासमेत मतदान गर्न नआएर उपचारका नाममा कहिले सिंगापुर र कहिले हङकङ बसेको आरोप खेपिरहेका हुन् ।