राजनीतिक परिवर्तनसँगै निजी क्षेत्रमाथि आक्रमण हुने प्रवृत्ति अन्त्य गर्नुपर्छ: उपाध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
739
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले वर्तमान सरकारले अब निजी क्षेत्रका सुझावलाई कार्यान्वयनतर्फ लैजानेमा आफूहरू आशावादी रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित प्रिबजेट छलफल कार्यक्रममा उनले विगतजस्तो निजी क्षेत्रका सुझावहरू थन्किने अवस्था अब नरहने विश्वास व्यक्त गरे ।
उनले भने,‘अहिलेको परिवर्तनको समयमा हामीले पनि अब नयाँ परिवेशमा सोच्नुपर्छ । र हामीले दिएको सुझाव पहिले जस्तो थन्केर बस्दैनन् । आफ्नो सुझावलाई सरकारले अगाडि बढाउँछ भन्ने लागेको छ । किनकी अर्थतन्त्र बढेन भने जुन सरकार पनि टिकाउ हुँदैन भनेर यो दुई दशकमा देखिसक्यौँ । नागरिकको अपेक्षा अनुसार काम नहुँदा यो ठाउँमा आइपुग्नुपर्यो ।’
उनले हरेक राजनीतिक परिवर्तनसँगै निजी क्षेत्रमाथि आक्रमण हुने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै लगानीकर्ता र रोजगारी सिर्जना गर्ने व्यवसायीलाई सम्मान गर्नुपर्ने बताए ।
ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने, आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
‘हरेक राजनीतिक परिवर्तनमा निजी क्षेत्रमाथि आक्रमण हुने परिपाटीबाट बाहिर निस्केर लगानी गर्ने र रोजगारी दिने मानिसलाई सम्मान गर्नुपर्छ भन्ने परिवेशमा हामी अहिले उभिएका छौँ ,’ उनले भने ।