arrow

लालझाँडीका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ को लक्षण, थारू समुदायमा जोखिम बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
sickle-cell-anemia.jpg

काठमाडौँ ।  कञ्चनपुरको लालझाँडी गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरका क्रममा २२३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ को वाहक (ट्रेट) पहिचान भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले एक सातासम्म सञ्चालन गरेको ‘स्क्रिनिङ’ शिविरमा दुई हजार ६४७ जनाको रगत परीक्षण गरिएको थियो।

स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टका अनुसार परीक्षण गरिएकामध्ये १४८ महिला र ७५ पुरुषमा यो समस्या देखिएको हो। हाल वाहकका रूपमा देखिएका यी व्यक्तिहरूको थप स्पष्ट पहिचानका लागि नमुनाहरू प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। नेपालको थारू चौधरी समुदायमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेकाले समयमै रोकथाम र पहिचानका लागि यो अभियान सुरु गरिएको हो।

सिकलसेल एनिमिया र थालसेमिया वंशाणुगत (आनुवंशिक) रगतसम्बन्धी रोग हुन्। फोकल पर्सन भट्टका अनुसार यदि विवाह हुने केटा र केटी दुवैमा यो रोगको 'ट्रेट' (वाहक लक्षण) छ भने उनीहरूबाट जन्मने २५ प्रतिशत बच्चामा यो रोग लाग्ने उच्च जोखिम हुन्छ। वाहक व्यक्तिमा शारीरिक रूपमा खासै ठूलो समस्या नदेखिए पनि उनीहरूले अर्को पुस्तामा यो रोग सार्ने सम्भावना रहन्छ।

विशेषगरी पश्चिम नेपालका थारू समुदायमा गरिएको विभिन्न अनुसन्धानले १८ प्रतिशतसम्ममा यसको जोखिम रहेको देखाएको छ। यो रोग लागेमा अत्यधिक थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट र जोर्नीहरू दुख्ने, आँखामा समस्या देखिने र बारम्बार ज्वरो आउने जस्ता लक्षणहरू देखापर्दछन्। स्वास्थ्य कार्यालयले थारू समुदायको बाहुल्यता रहेका अन्य पालिकाहरूमा पनि यस्ता शिविरहरू सञ्चालन गरी रोगको भयावह अवस्थालाई रोक्ने लक्ष्य लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ