arrow

रास्वपा संसदीय दलको निर्णय

रास्वपाले दुई नयाँ मन्त्रीको नाम लगायो टुङ्गो

दुई नयाँ मन्त्रीको शपथ ग्रहण आजै साँझसम्म हुने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
balen-ravi-central-committee-meeting-82-12-12.jpg
तस्बिर फाइल

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्री पठाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले रिक्त रहेका मन्त्रालयका लागि मन्त्रीहरूको नाम टुङ्गो लगाएको हो।

बैठकले श्रम मन्त्रीका रूपमा सप्तरीका रामजी यादव र उद्योग मन्त्रीका रूपमा महोत्तरीकी गौरीकुमारी यादवलाई मनोनयन गरेको छ। संसदीय दलका सदस्य मनिष झाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनीहरूको शपथ ग्रहण आजै साँझसम्म हुने सम्भावना रहेको जानकारी दिए। यस निर्णयसँगै मन्त्रिपरिषद्मा महिलाको उपस्थिति करिब ४० प्रतिशत पुग्ने र मधेस प्रदेशको प्रतिनिधित्व समेत थप प्रभावकारी हुने रास्वपाको दाबी छ।

बैठकले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। पार्टी सभापति र संसदीय दलको नेताले संयुक्त रूपमा उनलाई समर्थन गर्न निर्देशन दिएको झाले बताए। राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने विषयमा भएको भनिएको कुनै पनि सहमति वा 'धोका' को चर्चाबारे आफूलाई जानकारी नभएको उनले प्रष्ट पारे।

संसद्को २० दिने 'सेसन ब्रेक' सुरु हुन लागेकाले यस अवधिमा सांसदहरूलाई आ-आफ्नो जिल्ला समन्वय र साङ्गठनिक सुदृढीकरणमा केन्द्रित हुन आग्रह गरिएको छ। साथै, मन्त्रालयहरूमा पार्टीका कार्यकर्ता र सांसदहरूको अनावश्यक भीडभाड नगर्न बैठकले निर्देशन दिएको छ।

पार्टीले आजैदेखि केन्द्रीय कार्यालयमा जनसम्पर्कका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) सुरु गरेको छ। यसअन्तर्गत दैनिक एक जना केन्द्रीय सदस्य र एक जना सांसद अनिवार्य रूपमा उपस्थित भई जनताका गुनासा र सुझाव सुन्ने व्यवस्था मिलाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ