न्याय र समानताको पक्षमा उभिने विश्वाससहित रुविकुमारीको उम्मेद्वारी : आर्यन राई
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
859
Shares
काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले रुविकुमारी ठाकुरको उम्मेद्वारी प्रस्ताव पेस गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमामा प्रस्ताव पेस गर्दै उनले उम्मेद्वारी प्रक्रियामा सहयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद समेत दिए ।
उनले भने, ‘आज श्रम संस्कृति पार्टीको रुवि कुमारीलाई हामीले अगाडि सार्दैगर्दा नेपालको न्यायको पक्षमा उहाँ उभिनुहुन्छ भन्ने विश्वास छ । सयौँको संख्यामा, हजारौँको संख्यामा मधेसकी छोरी चेलीहरू विभिन्न प्रथाको नाममा दविएका छन्। तमाम ती महिलाहरूका आवाज रुबी बन्ने छन् भन्ने विश्वास छ । हामीले उम्मेद्वारी दर्ता गर्दैगर्दा हामीलाई समर्थनको पक्षमा उभिएर समर्थन गर्ने दुई तिहाई बहुमतको पार्टी रास्वपालाई धन्यवाद दिन चाहन्छु ।’
उनले सरकारले गरेका काममा विरोधमा सँधै उत्रिने गरेको गलत भाष्य निर्माण भएको बताए ।
उनले खबरदारी र विरोध नितान्त फरक कुरा रहेको भन्दै आफूहरूले खबरदारी गरेर नजिकको जिम्मेवार पक्षलाई सचेत गराउँदै सही दिशामा लैजाने प्रयास गरेको बताए ।
उनले भने, ‘हामीले जहिल्यै विरोध गछौँ भन्ने भाष्य भएको छ। खबरदारी र विरोध नितान्त फरक कुरा हो । खबरदारी कसलाई गरिन्छ भने सबैभन्दा नजिकको पात्रलाई जो उसले चालेको हरेक पाइला सही ठाउँमा होस् भन्ने सोच्छ त्यसैले हामीले विरोध होइन् खबरदारी गरेको हौँ।’
राईले मधेसलगायत विभिन्न क्षेत्रमा अहिले पनि विभिन्न प्रथा र सामाजिक समस्याका कारण महिलाहरू पीडित रहेको उल्लेख गर्दै रुविकुमारी ठाकुर ती आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।