arrow

विवादास्पद व्यवसायी भट्ट र अग्रवालको निवासमा छापा, गाडीसहित महत्वपूर्ण कागजात जफत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
deepak-bhatta-sulav-agrawal.jpg

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ। प्रहरी र स्थानीय निकायको समन्वयमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारको छानबिनका लागि यो कडा कदम चालेको हो।

विभागले ललितपुरको सानेपास्थित भट्टको निवास 'किरणभवन' र उनको कार्यालयमा छापा मारी दुवै ठाउँ सिल गरेको छ। लामो समयदेखिको अनुसन्धानपछि प्रक्रिया टुङ्ग्याउन भट्टको निवासबाट रेञ्जरोभर, टोयोटा ल्याण्डक्रुजर, बीएमडब्लु, टेस्ला, प्रोटन र बीवाइडी लगायतका करिब १० वटा विलासी सवारी साधनहरू नियन्त्रणमा लिइएका छन्। यसका साथै मोबाइल फोन, कम्प्युटर, सीसीटीभी सर्भर र अन्य महत्वपूर्ण कागजातहरू समेत जफत गरिएको विभागले जनाएको छ।

अनुसन्धानको दायरा भट्ट र अग्रवालको साझेदारी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीसम्म पुगेको छ, जहाँबाट डिजिटल सामग्री र कागजातहरू नियन्त्रणमा लिइएको छ। त्यसैगरी अग्रवालको कार्यालय र भट्टका वित्तीय व्यवस्थापक भनिएका उपेन्द्र हिरावतको घरमा समेत छानबिन गरी ल्यापटप र सीसीटीभी फुटेज बरामद गरिएको छ।

विभागले अग्रवाल र भट्टको सम्पत्ति व्यवस्थापनमा गम्भीर आशंका व्यक्त गर्दै नेपालभित्रको स्रोत अग्रवाल र वैदेशिक स्रोत (सिंगापुर, हङकङ, दुबई) भट्टको नाममा परिचालन भएको हुनसक्ने कोणबाट अनुसन्धान केन्द्रित गरेको छ। दुवै व्यवसायी विगत दुई सातादेखि प्रहरी हिरासतमा छन्। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बीमा र बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ भने अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ