arrow

दुई दिने सार्वजनिक बिदाले पोखराका पर्यटन व्यवसायीमा उत्साह र आशा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
pokhara-airport.jpg.jpeg

काठमाडौँ ।  सरकारले आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ। सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको हो। यसअघि हप्तामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा हुने गरेको थियो।

दुई दिन बिदा हुँदा एक रात बस्न आउने पर्यटकको सङ्ख्या बढ्ने र यसले होमस्टेदेखि ठूला होटलसम्मको व्यवसायलाई चलायमान बनाउने व्यवसायीहरूले बताए। विशेषगरी आन्तरिक पर्यटकमा निर्भर रहेको पोखराको पर्यटन क्षेत्रले यो निर्णयलाई व्यवसाय पुनरुत्थानको एउटा बलियो सम्भावनाको रूपमा हेरेको छ। यसअघि पनि परीक्षणका रूपमा दुई दिने बिदा दिने निर्णय भए तापनि पूर्ण कार्यान्वयन हुन सकेको थिएन। तर, यसपटकको निर्णयलाई प्रभावकारी बनाउन सके पर्यटनमा गुणात्मक परिवर्तन आउने अपेक्षा व्यवसायीको छ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दुई दिने बिदाले ‘विकएन्ड ट्राभल’ को संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे। उनले इन्धन खपतमा मात्र केन्द्रित नभई पर्यटकीय दृष्टिकोणबाट यसलाई दीर्घकालीन रूपमा लैजान सके पर्यटनमा ठूलो प्रभाव पर्ने बताए। सुवेदीका अनुसार नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा पर्यटक ५० प्रतिशतले बढ्ने गर्छन्। यद्यपि, इन्धनको मूल्यवृद्धिले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले यसलाई चुनौतीपूर्ण रहेको पनि उनले उल्लेख गरे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारापहारीले दुई दिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र छोटो समयमै यात्राको योजना बनाउन सहज हुने बताए। यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बिदाको प्रभाव देखिन थालेको र मुस्ताङ, नवलपुर, तनहुँ जस्ता आसपासका जिल्लाका ग्रामीण पर्यटकीय गाउँहरूमा पनि चहलपहल बढ्न थालेको जानकारी दिए। टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले यो निर्णयले पदयात्रा (ट्रेकिङ) पर्यटनमा उल्लेख्य टेवा पुग्ने र पोखरालाई उत्कृष्ट ‘विकएन्ड ट्रेकिङ डेस्टिनेशन’का रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।

व्यवसायीहरूमा उत्साहका साथै केही संशय पनि देखिएको छ। इन्धन अभाव वा यातायातमा कडाइ गरिएमा निजी सवारीमा आउने पर्यटक प्रभावित हुन सक्ने जोखिम रहेको उनीहरूले बताए। पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले नीतिगत अस्थिरता पर्यटनका लागि चुनौतीपूर्ण हुने भएकाले होटलहरूले दीर्घकालीन प्याकेज तयार गर्न नीतिको निरन्तरता आवश्यक रहेकोमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ