काठमाडौँ । स्थानीय बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो।
महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत मङ्गलबार भने यसको मूल्य ३ लाख १ हजार ३०० रुपैयाँ रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा किनबेच भइरहेको छ, जबकि बुधबार यसको मूल्य ५ हजार १३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको हो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४,७०५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७८ डलर आसपासमा कारोबार भइरहेको छ। केही दिनयता लगातार बढिरहेको सुनको मूल्यमा आजको गिरावटले उपभोक्तालाई केही राहत दिएको देखिन्छ।