आज बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
376
Shares
काठमाडौँ । आज विश्वभर 'बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस' विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २०१९ देखि हरेक वर्ष अप्रिल २४ का दिन यो दिवस मनाउन सुरु गरिएको हो।
बहुपक्षीयता केवल तीन वा सोभन्दा बढी राष्ट्रहरूबीचको सङ्ख्यात्मक सहकार्य मात्र नभएर साझा मूल्य, मान्यता र नियममा आधारित सामूहिक राजनीतिक प्रतिबद्धता हो। संयुक्त राष्ट्रसङ्घका अनुसार परामर्श, समावेशिता र ऐक्यबद्धता यसका मुख्य आधार स्तम्भ हुन्। आजको एक-अर्कामा अन्तरनिर्भर विश्वमा समान अधिकार र दायित्वका आधारमा दिगो प्रभावकारी सहकार्य सुनिश्चित गर्न यसको महत्त्व झन् बढेको छ।
सन् १९४५ मा स्थापना भएको संयुक्त राष्ट्रसङ्घ बहुपक्षीयताको सबैभन्दा ठूलो मञ्च हो, जसमा १९३ सदस्य राष्ट्र र एक हजारभन्दा बढी पर्यवेक्षक संस्थाहरू आबद्ध छन्। राष्ट्रसङ्घको बडापत्रले अन्तरराष्ट्रिय विवादहरूलाई शान्तिपूर्ण कूटनीतिक माध्यमबाट समाधान गर्ने र भावी पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउने मुख्य उद्देश्य राखेको छ।
हालै सन् २०२४ सेप्टेम्बरमा सम्पन्न ‘समिट अफ द फ्युचर’ मार्फत विश्वका नेताहरूले ‘प्याक्ट फर द फ्युचर’ पारित गरेका छन्। यसले विश्वमा शान्ति कायम गर्न, दिगो विकासका लक्ष्यहरू हासिल गर्न र मानवअधिकारको संरक्षणप्रति अन्तरराष्ट्रिय समुदायको पुनः प्रतिबद्धता जाहेर गरेको छ। कूटनीतिक प्रयासमार्फत द्वन्द्व रोकथाम र विश्वव्यापी एकता नै आजको आवश्यकता भएको सन्देश यस दिवसले दिएको छ।