रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको राजस्व लक्ष्य समयअघि नै झण्डै पूरा गर्ने अवस्थामा पुगेको छ ।
आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदा कार्यालयले लक्ष्यको ९८दशमलव५१ प्रतिशत राजस्व संकलन गरिसकेको जनाएको छ ।
वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकोमा वैशाख १३ सम्म ३२ करोड ८० लाख २१ हजार ५९१ रुपैयाँ संकलन भएको छ ।
गौर भन्सारका प्रमुख भन्सार अधिकृत विकासकुमार रजकका अनुसार सिमानामा अवैध ओसारपसार नियन्त्रण र राजस्व चुहावट रोक्न अपनाइएको कडाइका कारण यस्तो उपलब्धि हासिल भएको हो ।
उनले अनिवार्य भन्सार नियमको प्रभावकारी कार्यान्वयनले राज्यको कोषमा सकारात्मक असर परेको बताए ।
विगतमा लक्ष्य भेटाउन कठिन हुने अवस्था रहे पनि यस वर्ष कडा निगरानी र नीतिगत कडाइका कारण प्रगति उत्साहजनक बनेको उनको भनाइ छ ।
विशेषगरी भारतबाट भित्रिने वस्तुमा कडाइ गरिएको छ ।
एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएको कार्यालयले जनाएको छ ।
भन्सार प्रशासनको कडाइसँगै अवैध आयात घटेको र स्थानीय बजारमा व्यापारिक गतिविधि बढेको देखिएको छ ।