arrow

गर्मी छल्न पर्यटकीयस्थलमा भीड, पूर्वाधार अभावको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
tourist-rara.jpg

सुर्खेत। वैशाख महिना शुरू भएसँगै कर्णालीका पर्यटकीयस्थलमा पर्यटकहरूको चाप बढेको छ। अरुबेला सुनसान जस्तै देखिने कर्णालीका पर्यटकीय स्थलमा भीड लाग्ने गरेको छ ।

यो सिजनमा अधिकांशको रोजाइमा रारा तालसम्म पुग्ने र कर्णालीको शीतलतामा आनन्द लिन पर्यटकहरू कर्णाली आउने गरेको बताउँछन् ।

तराईमा गर्मी बढेसँगै कर्णालीका अधिकांश पर्यटकीय स्थलहरू पहाडी र हिमाली जिल्लामा भएकोले गर्मी छल्न पनि कर्णालीमा आएको पर्यटकहरू बताउँछन् ।

कर्णालीको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रमै बुलबुले ताल, काँक्रेविहार, देउती बज्यै र शहीद पार्कजस्ता पर्यटकीय स्थलहरुले पर्यटक आकर्षित गरिरहेका छन्। वीरेन्द्रनगरमै घण्टाघरको आँगन पनि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ।

बुलबुले पार्कमा बोटिङ गर्ने, फोटो खिचाउनेहरूको भीड लाग्ने गरेको छ। विद्यालयमा भर्ना अभियान चलिरहेका बेला विद्यालय बन्द भएको कारण पनि पर्यटकीयस्थलमा बाक्लो उपस्थिति भएको हो ।

चाडपर्वहरूमा मात्र चहल पहल देखिने सुर्खेतका काँक्रेविहार, बुलबुले र शहीदपार्कमा आजभोलि दिनहुँ मानिसहरूको घुँइचो लाग्ने गरेको छ । यसले पर्यटकीय स्थलको आन्तरिक आम्दानी समेत बढाएकोछ ।

दैनिक दुई हजार देखि दुई हजार पाँच सयसम्मका टिकट बिक्री हुने बुलबुले तालमा वैशाख यता दैनिक पाँच हजार भन्दा बढीको टिकट बिक्री हुने गरेको छ ।

बुलबुले प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ टिकट लिने गरेको छ । यस्तै प्रतिव्यक्ति २० रुपैयाँको टिकट लाग्ने कर्णाली प्रादेशिकसहित पार्क र काँक्रेविहारमा पनि उत्तिकै बाक्लो मानिसको आवतजावत भइरहेको छ ।

प्राकृतिक सुन्दरताः पुग्नलाई सास्ती

यतिबेला कर्णालीको पर्यटकीय गन्तव्य रारा तालसम्म पुग्नेहरुको संख्या पनि बढेको छ । सल्यानको कुपिण्डे दह, डोल्पाको शेफोक्सुण्डो, रुकुम पश्चिमको स्यार्पु ताललगायतका स्थानहरू पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

काठमाडौँकी इलिजा तुलाधर पहिलो पटक डोल्पाको शे-फोक्सुण्डो ताल घुम्न आइन् । शे-फोक्सुण्डो पुगेकी इलिजालाई डोल्पाको प्राकृतिक सौन्दर्यताले जति आनन्दित बनायो उनलाई त्यहाँ पुग्न भएको दुःखले निकै पिरोल्यो ।

काठमाडौँबाट नेपालगन्ज भएर हवाइ जहाजमा डोल्पा जान लागेकी उनलाई टिकट पाउनै निकै सास्ती भएको उनले दुखेसो सुनाइन् ।

‘शे फोक्सुण्डो तालको प्राकृतिक सुन्दरता र यहाँको हावापानीले मन निकै आनन्दित बनायो’, उनले भनिन, ‘जिन्दगीमै पहिलो पटक वैशाखको महिना डोल्पामा पुगेर हिउँमा रमाउन पाउनु मेरो जीवनकै अविस्मरणीय क्षण हो ।’

जागिरको सिलसिलामा तराइका विभिन्न जिल्लामा बसेको बताउँने उनले डोल्पाको प्राकृतिक सौन्दर्यले उत्साहित बनाएको बताइन् । तालको छेउमा पुगेपछि बाटोको सास्ती सबै भुलिने रहेछ इलिजाले आफ्नो डोल्पा अनुभव सुनाइन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालका हिमालमा राज्यको लगानी नपुगेको उनको गुनासो छ। ‘तालसम्म पुग्ने बाटो फराकिलो, बनाउन सके, सहज रुपमा डोल्पाको लागि टिकट पाउने वातावरण भए धेरै पर्यटक शेफोक्सुण्डो जाने अवस्था रहन्थ्यो होला’, उनले भनिन्, ‘तालको आसपासका टेलिफोन सुविधा र इन्टरनेटको पहुँच भए शेफोक्सुण्डो तालको प्रचारप्रसारमा अझ टेवा पुग्ने थियो।’ इजिलाजस्तै कर्णालीका विभिन्न पर्यटकीयस्थल पुग्ने पर्यटकको भोगाइ यस्तै रहेको छ ।

इलामका विजय तामाङ पहिलो पटक मुगुस्थित रारा ताल पुग्दा अचम्मित भए । सुनेको रारा र देखेको राराबिच आकाश पातलको भिन्नता पाएको बताए । इलामबाट गाडी रिजर्भ गरेर लामो यात्रा पछि रारा पुगेका उनले बाटोको सबै थकान बिर्सिएको बताए ।

‘रारा एक पटक पुग्नै पर्ने ठाउँ रहेछ’ उनले भने, ‘राराको सुन्दरता र ताल वरिपरीको हरियाली, चिसो हावाले प्रकृतिको काखमै पुगेको अनुभूति हुन्छ ।’ उनले रारा जाने सडकको हालत देख्दा भने सरकारले ध्यान नदिएको अनुभूति भएको बताए ।

रारा पुग्ने बाटोको स्तरोन्नति गरी पर्यटक आकर्षित गर्ने कार्यक्रम सरकारले ल्याउनु पर्ने उनले सुझाए । ‘सडकको हालत खराव छ । यात्रुहरुले बाटोमा बहुतै सास्ती भोग्दै रारा पुग्नु पर्छ’ उनले भने, ‘यहाँको सडक, होटल, सञ्चार, सुरक्षा तथा पर्यटक सेवाको लागि सरकारले आवश्यक कार्यक्रम बनाउन जरुरी छ ।’

नाग्म-गमगडी सडक र कर्णाली राजमार्गलाई पूर्णरूपमा कालोपत्रे गरी पर्यटक आगमनलाई बढाउन सकिने उनको बुझाई छ ।

नौ महिनामा १३ हजार पर्यटक रारा पुगे

चालु आर्थिक वर्षको नौ महिनामा रारामा झण्डै १४ हजार पर्यटक पुगेका छन् । चैत मसान्तसम्म रारा पुग्ने पर्यटकको संख्या १३ हजार आठ सय ८३ रहेको छ ।

योमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका छन् । सार्क राष्ट्रका पर्यटक ६९ र अन्य देशका पर्यटक एक सय ३३ जनाबाहेक आन्तरिक पर्यटकहरु रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

रारामा दैनिक सरदर ३५ जना पर्यटक आइरहेको रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए ।

पहिले अधिकांश पर्यटक जहाजमै ताल्चा विमानस्थलमा झरेर राराताल पुग्ने गर्थे । तर, अहिले जहाजको भाडा निकै महंगो भएकाले समूह मिलेर गाडी रिजर्भ गरेर घुम्न आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ