सय टन छोकडा आयात प्रकरणमा पोदारको मुख्य हात रहेको दाबी, जैन र मालपानीसमेत तानिने संकेत
दीपेन्द्र चौहान,
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
882
Shares
वीरगञ्ज । नक्कली कागजात (किर्ते) खडा गरी 'सिम्भिन इन्टरनेशनल'को नाममा १०० टन छोकडा आयात गर्न खोजेको आरोपमा वीरगञ्जबाट व्यापारी नविन अग्रवाल पक्राउ परेको खबर सार्वजनिक भएपछि वीरगञ्ज महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जयप्रकाश साह आश्चर्य चकित भए ।
उनले 'मेरो साथी नविन एउटा सानो पसल चलाएर आफ्नो घर परिवारको खर्च चलाउँछ यस्तो ठूलो काण्डमा कसरी फस्यो ?' भन्दै प्रतिप्रश्न गर्दै ठूलो माछाले सानो भूरा माछालाई जालमा फसाएको दाबी गरे ।
स्रोतका अनुसार पक्राउ परेका अग्रवाल यस घटनामा केवल 'मोहरा' मात्र हुन् ।
वीरगञ्जस्थित रुङ्गटा मार्केटमा सामान्य मोबाइल चार्जर र खुद्रा चिनियाँ सामानको पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका अग्रवाललाई सामान्य आर्थिक प्रलोभनमा पारी उनको नाममा फर्म दर्ता गरिएको पाइएको छ ।
यस प्रकरणको पर्दा पछाडि ३३ किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका भूमिगत माफियाका कुख्यात खेलाडी विमल पोदारको मुख्य हात रहेको दाबी स्रोतको छ। नाताले अग्रवालकी सानिमाको छोरा पर्ने पोदारले अग्रवालको सोझोपन र पारिवारिक नाताको फाइदा उठाउँदै उनको नाममा 'सिम्भिन इन्टरनेशनल' दर्ता गराएको खुलेको छ । सोही फर्ममार्फत प्रतिबन्धित छोकडा आयात गर्ने र नक्कली कागजात तयार पारेर वीरगञ्ज भन्सारमा पेश गर्ने सम्पूर्ण खेल पोदार र उनका साझेदार दीपक मल्होत्राले रचेको स्रोतको भनाइ छ ।
सरकारी छाप र हस्ताक्षर कीर्ते गरी भन्सारमा कागजात पेश भएको रहस्य बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अग्रवाललाई नियन्त्रणमा लिएको थियो । यसैबीच सीआईबीले यस घटनाको थप सूक्ष्म र गहिरो अनुसन्धान गरेमा टीके जैन र कमल मालपानी जस्ता अन्य व्यापारीहरूको नाम पनि यस्ता काण्डमा तानिन सक्ने वीरगञ्ज भन्सार निकट स्रोतले दाबी गरेको छ ।