काठमाडौँका विस्थापित सुकुमवासीलाई भक्तपुरका दुई सेल्टरमा आश्रय
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
338
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका व्यक्तिहरूलाई भक्तपुरका दुईवटा छुट्टाछुट्टै सेल्टरमा अस्थायी बासस्थानको व्यवस्था गरिएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनलाई सेल्टरका रूपमा प्रयोग गरिएको छ।
चाँगुनारायणको खरिपाटीस्थित केन्द्रमा १४० जना सुकुमवासीलाई राखिएको छ, जहाँ उनीहरूलाई होस्टेलमा परिवारअनुसार छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ। २५० जनासम्म अट्ने क्षमता भएको यस केन्द्रमा यसअघि कोरोना महामारीको समयमा चीनबाट ल्याइएका नेपाली विद्यार्थी र सङ्क्रमितहरूलाई समेत राखिएको थियो।
टेकु सुकुमवासी बस्तीबाट गाडीमा राखेर यहाँ ल्याइएका सुकुमवासीहरूले तत्कालका लागि निःशुल्क खान र बस्न पाइरहेको बताएका छन्। उता मध्यपुरथिमिकाे सिन्टिटारस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ३९ जना सुकुमवासीलाई आश्रय दिइएको छ र त्यहाँ पनि आवास तथा खानाको उचित प्रबन्ध मिलाइएको छ।
सेल्टरमा रहेका सुकुमवासीहरूको अवस्था बुझ्न प्रधानमन्त्री कार्यालयको सचिवालयको एउटा टोली आइतबार खरिपाटी पुगेको थियो। यसैबीच, वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले आश्रितहरूलाई तत्काल स्वास्थ्य सेवा पुर्याउन निर्देशन दिनुभएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काका अनुसार आइतबार भक्तपुर अस्पतालको चिकित्सक टोलीले दुवै सेल्टरमा सामान्य स्वास्थ्य परीक्षण गरिसकेको छ भने आज ती स्थानमा विशेष स्वास्थ्य शिविर, औषधि वितरण र मनोपरामर्श सेवा उपलब्ध गराइँदै छ।