शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा झोला निषेध: पेसागत स्वतन्त्रता बलियो बन्ने प्रधानमन्त्रीको दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
306
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्ने सरकारको निर्णयले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नकाटिने बरु यसबाट उनीहरूको पेसागत स्वतन्त्रता थप सुदृढ हुने कुरा स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेको दलीय राजनीतिककरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गरे।
प्रधानमन्त्री साहले फेसबुकमा लेखेका छन्, “धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्”, “विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगा¥यो”, वर्षौंदेखि धेरै सङ्गठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यताभन्दा पहुँच, क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो । यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।”
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट राजनीति हटाउन खोज्नु सङ्गठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि चालिएको कदम भएको उनले प्रस्ट पारे। “चाहने हो भने आजकै दिनमा ठूला सङ्गठन बनाउन सकिन्छ तर अर्को दलगत सङ्गठन थप्दैमा सुधार हुँदैन भन्ने कुरा विगतले देखाइसकेको छ।” भन्दै उनले अब सरुवा र बढुवाको आधार दलीय निकटता नभएर विधि, क्षमता र दक्षता मात्र बन्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले अगाडि लेखेका छन्, “हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन । हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति । कर्मचारीले जनताको सेवा सिकून् कुनै दलको होइन।”
सरकारको यो कदम कुनै पनि राजनीतिक दलविरुद्धको लडाइँ नभएर देशलाई दलगत कब्जाबाट मुक्त गरी संस्थागत मार्गमा ल्याउने र भविष्य बचाउने प्रयास भएको उनले स्पष्ट पारे। “शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत सङ्क्रमणबाट मुक्त गर्ने यो प्रयास हो । त्यसैले तपाइँहरुकै चाहनाअनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ।” भन्दै उनले परिवर्तन भाषणले नभई निर्णयले आउने बताए। उनले थपे, “तपाइँको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाइँहरुकै जनचाहनाबमोजिम काम गर्न सरकारमा आएका हौँ । तपाइँहरु ढुक्क हुनुहोस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं।”