सहकारी नियमन प्राधिकरणमा साढे ११ हजार बढी सहकारी दर्ताको प्रक्रियामा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
319
Shares
काठमाडौँ । देशभर सञ्चालित सहकारी संस्थाहरूलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता प्रक्रियालाई तीव्रता दिएको छ। हाल प्राधिकरणमा ११ हजार ६०० सहकारी संस्थाहरू दर्ताको प्रक्रियामा रहेका छन्। विशेषगरी बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारीहरूलाई नियमनको दायरामा ल्याउन यो कदम चालिएको हो।
प्राधिकरणका अनुसार अनलाइनमार्फत आवेदन दिएका संस्थाहरूमध्ये करिब तीन हजार सहकारीले इजाजतपत्र प्राप्त गरिसकेका छन्। बाँकी आठ हजार ६०० संस्थाहरूको विवरण रुजु गर्ने, कागजात अध्ययन गर्ने र 'भेरिफाइ' गर्ने कार्य भइरहेको छ। यसमध्ये ३ हजार ६४६ सहकारी संस्थाहरूको भने आवश्यक कागजात नपुग भएको प्राधिकरणले जनाएको छ।
सहकारी क्षेत्रमा प्रभावकारी नियमन र सुपरीवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्न थालेपछि सरकारले एक वर्षअघि यस प्राधिकरणको गठन गरेको थियो। प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माका अनुसार अहिले सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने सबै सहकारीहरूको अभिलेखीकरण कार्य सुरु गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक केशवराज भट्टराईले बचत तथा ऋणको कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनिवार्य इजाजत लिएर मात्र कारोबार सञ्चालन गर्न पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो।
सहकारीको वित्तीय अवस्था र कारोबारको परीक्षणलाई थप प्रभावकारी बनाउन प्राधिकरणले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग समेत समझदारी गरेको छ। उक्त संस्थाले सहकारीहरूको वित्तीय विवरण र कारोबारको सूक्ष्म परीक्षणमा प्राविधिक सहयोग पुर्याउनेछ।