arrow

ढोरपाटन सिकार आरक्षमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
dhorpatan-cc-camera-leopard.jpg

काठमाडौँ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन गणना कार्य सुरु गरिएको छ। यस कार्यका लागि तीनवटा समूहले १५ दिन लगाएर समुद्री सतहदेखि ३,२०० मिटरदेखि ५,५०० मिटरको उचाइमा ५६ वटा सेन्सरसहितका स्वचालित क्यामेराहरू जडान गरेका छन्। 

नाउर र झारलको वैधानिक सिकार हुने यस आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए तापनि हालसम्म यसको औपचारिक गणना हुन सकेको थिएन। वैशाख ११ गतेदेखि शुरू गरिएको क्यामेरा जडान कार्यका लागि १५ जना कर्मचारी तथा प्राविधिकहरू खटिएका थिए।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ स्थानमा राखिएका यी क्यामेराहरूले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछन्। प्राविधिक टोलीले प्रत्येक १५ दिनमा क्यामेराको ब्याट्री र मेमोरी कार्ड परिवर्तन गर्न पुनः ती स्थानहरूमा पुग्ने व्यवस्था मिलाएको छ। हिउँचितुवाको सम्भावित बासस्थान, ओडार, चट्टान, घारी र जङ्गलको बनोटलाई आधार मानी छवटा सिकार ब्लकहरू सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुनेमा क्यामेराहरू जडान गरिएका छन्। १,३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस आरक्षको मुख्यालय बागलुङमा रहे पनि यसको क्षेत्र म्याग्दी र रुकुमसम्म विस्तार भएको छ।

चितुवाको गणनाका लागि क्यामेराले कैद गरेका फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ। फोटोका साथै जङ्गलमा भेटिएको हिउँचितुवाको दिसा सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिने र पदचिह्न तथा सङ्केत सर्वेक्षणका आधारमा समेत सङ्ख्या यकिन गरिने सुवेदीले जानकारी दिए। ४५ दिनपछि क्यामेराहरू सङ्कलन गरी कार्यालयमा ल्याएर फोटोहरूको सूक्ष्म विश्लेषण गरी गणना कार्यलाई पूर्णता दिइनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ