झापामा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
525
Shares
काठमाडौँ । झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्। बाह्रदशी–२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाएपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार च्याउ खाएपछि ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवास र परिवारका आठ जना बालबालिका बिरामी परेका हुन्।
बिरामीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि नौ जनालाई दमकस्थित बाल अस्पताल पठाइएको छ। प्रहरीका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ।
जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुन सक्ने र ज्यानै जाने जोखिम समेत रहने भएकाले पहिचान नभएका वा शङ्कास्पद च्याउ नखान प्रहरीले सर्वसाधारणमा विशेष आग्रह गरेको छ।