सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
445
Shares
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने सम्बोधनको मस्यौदालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट हुने सम्बोधनलाई बैठकले पारित गरेको छ। आज अपराह्न ४:०० बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
सङ्घीय संसद्को बजेट अधिवेशन पनि आजैदेखि सुरु हुँदै छ। आज प्रस्तुत हुने नीति तथा कार्यक्रमकै जगमा रहेर सरकारले आगामी जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्ने संवैधानिक प्रावधान छ। यस नीति तथा कार्यक्रममा सरकारका प्राथमिकता, विकास निर्माणका योजना र आगामी वर्षको कार्यदिशा समेटिएको बताइएको छ।