arrow

मानव बेचबिखनको बदलिँदो स्वरूप, वैदेशिक रोजगारीको आवरणमा भयावह स्थिति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
manab-bechbikhans.jpg

काठमाडौँ । नेपालमा मानव बेचबिखनको स्वरूपमा आएको तीव्र परिवर्तनले यसको नियन्त्रण र उद्धार प्रक्रियामा नयाँ तथा जटिल चुनौतीहरू थपेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो र स्थानीय तहका सरोकारवालाहरूले पछिल्लो समय वैदेशिक रोजगारी तथा आप्रवासनका नाममा हुने मानव बेचबिखनको स्थिति भयावह बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

ब्युरोका प्रहरी उपरीक्षक (एसपी) हरिबहादुर ओलीका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीका नाममा हुने ओसारपसारको स्थिति डरलाग्दो छ। आर्थिक वर्ष २०८०/८१ मा ब्युरोले ओमानबाट ११७, कुवेतबाट ५२५, युएईबाट ५३, दक्षिणपूर्वी एसियाबाट ९६ र युरोपबाट २८ जनाको उद्धार गरेको छ। यस्तै, म्यानमार र कम्बोडियाबाट ३३८ जनाको उद्धार तथा फिर्ती भएको छ। विशेष गरी अमेरिका जाने अवैध मार्ग अर्थात् ‘डन्की रुट’ बाट ९६३ जना निष्कासित भएका छन्, जसमा दाङ र रुकुमका नागरिकको सङ्ख्या उल्लेख्य छ।

अनुसन्धानले कम्बोडिया र म्यानमारका ‘स्क्याम सेन्टर’ हरूमा नेपालीहरूलाई बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएर अनलाइन ठगीमा लगाउने गरेको देखाएको छ। यस्तै, अमेरिका लैजाने बहानामा अफ्रिकी मुलुक र मेक्सिकोको अवैध बाटो प्रयोग गर्दा पीडितहरूलाई बन्धक बनाउने र परिवारसँग थप रकम असुल्ने गरिएको एसपी ओलीले बताए। अधिकांश कारोबार हुन्डीमार्फत हुने भएकाले प्रमाण जुटाउन कठिन हुने र कम्बोडिया जस्ता देशमा कूटनीतिक नियोग नहुँदा उद्धारमा समस्या पर्ने गरेको उनको भनाइ छ।

रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले विद्यमान कानुनको कार्यान्वयन फितलो हुँदा श्रम शोषणका घटना बढेको बताए। भारतसँगको खुला सीमाका कारण विना राहदानी हुने आवतजावतले नेपाली महिलाहरू जोखिममा परेको उनले उल्लेख गरे। उपप्रमुख चौधरीले कानुनमा रहेका ‘वेश्यावृत्ति’ जस्ता अपमानजनक शब्दहरू परिमार्जन गर्नुपर्ने र बालश्रमको उचित व्यवस्थापनमा राज्यको संरचना प्रभावकारी हुनुपर्नेमा जोड दिए।

विज्ञहरूले मानव बेचबिखन नियन्त्रणका लागि ‘पीडित केन्द्रित न्याय प्रणाली’ आवश्यक रहेको बताए। यसका लागि स्थानीय तहसम्म सूचना प्रणालीको विकास गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको सूक्ष्म अध्ययन गर्ने र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय बढाउनुपर्ने देखिन्छ। सरोकारवालाहरूले स्वदेशमै कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर वैदेशिक रोजगारीको बाध्यतालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन्। नागरिकहरूलाई पनि विदेश जानुपूर्व सीप सिक्न र आवश्यक कागजातको प्रतिलिपि घरमा छोड्न आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ