arrow

प्रतिनिधि सभा

आएनन् बालेन, विपक्षीले थाले संसदमा विरोध गर्न

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
parliament-82-12-23eee.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै प्रधानमन्त्री वालेन्द्र साह बालेनको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा विरोध गरेका छन्। नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि विपक्षीले  आपत्ति जनाएका हुन्। 

बालेन नआएपछि नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधि सभा चिया पसल नभएको र यो सभा गुरुकुल हुनुपर्ने भन्दै सरकारको आलोचना गरे। उनले भने, "प्रतिनिधि सभा चिया पसल होइन, यो एउटा गुरुकुल हुनुपर्छ जहाँ गम्भीर छलफल र जवाफदेहिता होस्।" नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा देशको कार्यकारी प्रमुख नै नआउनु संसद्को अपमान भएको उनको तर्क थियो। उनले आज प्रधानमन्त्री आउनेमा आशावादी रहेको बताएका छन् । 

 यसअघि बुधबारको बैठकमा पनि नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बुधबार छलफल गर्ने तयारी भए पनि विपक्षी दलहरूको अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।

विपक्षी दलहरूले नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री साहको अनिवार्य उपस्थिति हुनुपर्ने माग राख्दै सदन अवरुद्ध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) बमोजिम आजका लागि नयाँ कार्यतालिका तय गरेका थिए। 

आजको सम्भावित कार्यसूची अनुसार छलफल सकिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ भने सरकारले यसै अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत गर्ने योजना बनाएको छ।

यद्यपि आजको बैठकमा पनि प्रधानमन्त्रीको भौतिक उपस्थिति नभएपछि विपक्षी दलहरूले पुनः अवरोध गर्ने सङ्केत दिएका छन् । जसका कारण सदनको कारबाही सहज रूपमा अघि बढ्नेमा अझै अन्योल कायम छ।

सरकारले आफ्ना प्राथमिकताहरूलाई सदनबाट अनुमोदन गराएर बजेट निर्माणको अन्तिम प्रक्रियामा लाग्ने लक्ष्य राखे पनि संसद्को यो गतिरोधले कार्यतालिका प्रभावित हुने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ