काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले गत २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बिहान ११ बजे बोलाइएको छ।
वर्तमान सत्ता समीकरण अनुसार मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत देखिन्छ। हाल सरकारको पक्षमा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका २६, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका ७ जना गरी कुल ६२ जना सांसद रहेका छन्। १०७ सदस्यीय प्रदेश सभामा सरकार टिकाउन केवल ५२ जना सांसदको समर्थन भए पुग्ने भएकाले मुख्यमन्त्रीले सहजै विश्वासको मत पाउने आधार देखिएको छ।
प्रदेश सभामा हाल नेकपा एमालेका १, माओवादीका २ र जनमत पार्टीका १ जना गरी ४ जना सांसद पदमुक्त भइसकेका छन् भने अन्य २ जना निलम्बनमा रहेका छन्।
जनमत पार्टीले विपक्षी बेन्चमा बस्ने निर्णय गरे पनि सत्ता गठबन्धनसँग पर्याप्त संख्या बल रहेकाले मुख्यमन्त्री यादवको पद सुरक्षित रहने निश्चित देखिएको छ। सदनबाट विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्रीलाई आफ्नो सरकारको कार्ययोजना अगाडि बढाउन थप राजनीतिक वैधानिकता प्राप्त हुनेछ।