arrow

मदन-आश्रित स्मृति दिवस

केपीको रक्षाकवच बन्दै बादल, भन्छन् -ओलीमाथिको षड्यन्त्र दासढुङ्गाकै निरन्तरता [भिडियो]

ओलीको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
ram-bd-thapa-badal-.jpg

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले पार्टी अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिङ्गो पार्टी पङ्क्तिको काँधमा आएको बताएका छन्। आइतबार मदन-आश्रित स्मृति दिवसको अवसरमा काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उपाध्यक्ष थापाले देशी-विदेशी शक्तिहरू मिलेर नेकपा एमाले र यसको मूल नेतृत्व केपी शर्मा ओलीलाई समाप्त पार्ने ठूलो षड्यन्त्र रचिरहेको दाबी गरे। पछिल्ला राजनीतिक घटनाक्रम, 'जेन-जी' आन्दोलन, निर्वाचन, सरकारका निर्णय, वर्तमान सरकारले ल्याएको अध्यादेश, मन्त्रिपरिषद्का कदम र एमाले अध्यक्ष ओलीमाथि लगाइएका मुद्दाको प्रकृति तथा गिरफ्तारीलाई सूक्ष्म रूपमा केलाउँदा ती सबै घटनाक्रमहरू ३३ वर्षअघि भएको दासढुङ्गा हत्याकाण्डकै निरन्तरता र एउटा नयाँ शृङ्खला भएको उनको जिकिर थियो।

"अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस्, मन्त्रिपरिषद्ले गरेका निर्णयहरू हेर्नुस्, हाम्रो अध्यक्षको गिरफ्तारी र उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुस्। यी सबै घटनाहरू के हुन्? यी सबै दासढुङ्गा घटनाकै निरन्तरता हुन्," उपाध्यक्ष थापाले सम्बोधनका क्रममा भने, "त्यसैले आज नेकपा एमालेका अगाडि एउटा गम्भीर कार्यभार उपस्थित भएको छ। दासढुङ्गादेखि यहाँसम्मका घटनाक्रमहरूले हामीलाई के सङ्केत गरेको छ भने देशी-विदेशी शक्तिहरूले जसरी एमालेलाई सखाप पार्ने अभियान चलाएका छन्, त्यसको विरुद्ध एमाले र यसको नेतृत्वलाई रक्षा गर्ने गम्भीर जिम्मेवारी हाम्रो काँधमा आएको छ।"

उपाध्यक्ष थापाले एमाले र यसको नेतृत्वमाथि चौतर्फी रूपमा निरन्तर आक्रमण भइरहेकाले सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई यस षड्यन्त्रविरुद्ध थप सचेत, सङ्गठित र एकजुट भएर लाग्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ