चिया आयातमा ल्याब टेस्ट अनिवार्य गरेपछि नेपाली चियाको निर्यात ठप्प
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
524
Shares
काठमाडौँ । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाइका कारण वार्षिक ५ देखि ६ अर्ब रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन्।
नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो, जसले नेपाली निर्यातकर्ताका लागि ठूलो प्रशासनिक र आर्थिक झन्झट थपिदिएको छ। अहिले चिया निर्यातको मुख्य सिजन भएको र करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा रहे पनि भारतीय पक्षको कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजाने आँट गर्न सकेका छैनन्।
यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन सक्ने खुकुलो व्यवस्था थियो। तर नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीटङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने प्रावधान राखिएको छ।
नयाँ नियमअनुसार प्रतिट्रक नमुना परीक्षणका लागि व्यवसायीले १८ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्नेछ। भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा उक्त चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा फर्काउन समेत नदिई सिधै जफत गरिने कडा व्यवस्था गरिएको छ।
हरेक ट्रकको नमुना परीक्षणका लागि महँगो शुल्क र समय लाग्ने नियम बनाउनु निर्यातमा पूर्ण अवरोध सिर्जना गर्ने नियत भएको व्यवसायीहरूको गुनासो छ। त्यस्तै प्रयोगशालाको प्रतिवेदन नआउञ्जेल १० देखि १४ दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रूपमा रोकेर राख्ने पर्याप्त पार्किङ स्थल र पूर्वाधार पानीटङ्की भन्सारमा समेत छैन।
रिपोर्ट प्रतिकूल आएमा चिया नै जफत गर्ने प्रावधानले व्यवसायीहरू मारमा परेका छन् र यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका सधैँका लागि बन्द हुने देखिएको छ। नेपाली चियाको मुख्य बजार भारत नै रहँदै आएकाले चिया क्षेत्रमा देखिएको यो गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अबिलम्ब सरकार–टू–सरकार (जिटुजी) संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक सङ्घको माग छ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया विश्व बजारमा गुणस्तरका लागि लोकप्रिय मानिन्छन् तर प्रमुख बजारमै नीतिगत अवरोध सिर्जना हुँदा किसानदेखि ठूला उद्योगीसम्म र यसमा आश्रित लाखौँ श्रमिकको जीविकोपार्जन सङ्कटमा परेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मुलुकको २० हजार ६०२ हेक्टर भूभागमा रहेको चिया बगानबाट २ करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो।
सोही आवमा नेपालबाट ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको थियो। हाल मुलुकभर १७० वटा ठूला चिया बगान र १२० वटा साना तथा मझौला चिया बगान सञ्चालनमा छन्। चिया उत्पादनमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष रूपमा सहभागी छन् भने चिया बगानदेखि उद्योगसम्म गरी करिब एक लाख श्रमिकले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्।