श्रम संस्कृतिका सांसदहरूलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन सभामुखको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
659
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टी, नेपालका सांसदहरूलाई संसद् र आ-आफ्नो पदीय मर्यादाविपरीतका क्रियाकलाप तथा व्यवहार तत्काल सच्याउन कडा चेतावनी दिएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) सहितका सांसदहरूले प्लेकार्ड (पर्चा) देखाएर संसद्को कारबाही अवरुद्ध पारेपछि सभामुख अर्यालले यस्तो चेतावनी दिएका हुन्।
सभाको मर्यादाविपरीत संसद् भवनभित्र प्लेकार्ड प्रदर्शन गर्ने, नाराबाजी गर्ने र अभद्र व्यवहार देखाउने क्रम नरोकिएपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० बमोजिम सो पार्टीका सांसदहरूलाई आफ्ना क्रियाकलाप र व्यवहार तत्काल सच्याउन र अनुशासित बन्न निर्देशन दिएका हुन्।
बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूलाई सचेत गराउँदै सभामुख अर्यालले भने, “माननीय हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादाविपरीत संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकाले म माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।”
श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्मा दैनिक रूपमा प्रधानमन्त्री बालेन्द्र साहको विरोध गर्दै बैठकको कार्यसूचीमाथि अवरोध सिर्जना गर्दै आएका छन्। सभामुखले चेतावनी दिने क्रममै सो पार्टीका अध्यक्ष हर्कराज राईले असन्तुष्टि जनाउँदै बैठक कक्ष नै छोडेर बाहिरिएका थिए। लगातारको संसद् अवरोध र अभद्र शैलीप्रति सभामुखले नियमावलीको व्यवस्था आकर्षित गर्दै कडा कदम चाल्ने सङ्केत गरेपछि संसद्को राजनीतिक माहोल थप तातिएको छ।