arrow

काठमाडौँमा गर्मी बढ्यो, सुदूरपश्चिम र लुम्बिनीमा 'तातो लहर' को जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
hot-west-terai.JPG.jpeg

काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभरि नै गर्मी अत्यधिक बढेको छ। उपत्यकामा निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रममा समेत वृद्धि भइरहेको छ। 

मौसमविद् विभूति पोखरेलका अनुसार हाल नेपालमा पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्रको नजिक अवस्थित छ। अब बिस्तारै देशको मध्य भागमा वर्षा रोकिने र अत्यधिक गर्मी बढ्ने सम्भावना छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागहरूमा 'तातो दिन' को अवस्था सिर्जना भइसकेकाले स्थानीय नागरिक र सरोकारवाला निकाय पूर्वतयारीको अवस्थामा रहनुपर्ने उनको सुझाव छ।

हामी हालको मौसमी अवस्थालाई निरन्तर निगरानी गरिरहेका छौँ। यदि अझै दुई–तीन दिन लगातार यस्तै अवस्था देखियो भने औपचारिक रूपमै ‘तातो लहर’ चलेको पुष्टि हुनेछ। यस वर्ष देशका धेरै स्थानहरूमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ। तर, कम वर्षा हुनुको अर्थ विपद् आउँदैन भन्ने नभएको पोखरेलले प्रष्ट पारिन्। सरदरभन्दा कम वर्षा हुँदैमा बाढी–पहिरो नआउने भन्ने हुँदैन। लामो समयसम्म खडेरी पर्ने र एकैचोटि भारी वर्षा हुने अवस्था रहँदा बाढी–पहिरोको जोखिम उत्तिकै रहन्छ, जसका लागि पूर्वतयारी आवश्यक छ। गण्डकी प्रदेशमा बाढी र पहिरोको उच्च जोखिम रहेको विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत जानकारी प्राप्त भएको उनले उल्लेख गरिन्।

पछिल्लो समय नेपालमा मौसम पूर्वानुमान प्रणाली विगतको तुलनामा धेरै भरपर्दो र सटिक हुनुको मुख्य कारण प्रविधिको व्यापक प्रयोग भएको पोखरेलले बताइन्। जति नयाँ प्रविधि अपनाउन सकियो, पूर्वानुमान त्यति नै सटिक हुन्छ। जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमानका लागि विभिन्न आधुनिक प्रविधिहरू प्रयोग गरिरहेको छ। स्याटेलाइट प्रविधि र मौसमी प्रणालीको दिशा एवं प्रकृतिको विश्लेषणका आधारमा चट्याङको पूर्वानुमान गरिन्छ। त्यस्तै बाढी पूर्वानुमानका लागि छुट्टै र नयाँ ‘फ्लड फोरकास्टिङ मोडल’ प्रयोगमा ल्याइएको छ भने मौसम भविष्यवाणीका लागि तीन दिने विशेष मोडलहरू र संख्यात्मक मौसम भविष्यवाणी जस्ता प्रविधिहरू सञ्चालनमा छन्।

देशभर फैलिएको ‘हाइड्रो–मेटियोरोलोजिकल सञ्जाल’ (जल–मौसम सञ्जाल) मार्फत मौसमसम्बन्धी आवश्यक तथ्याङ्कहरू सङ्कलन गर्ने गरिएको छ। नेपालको उच्च हिमाली भू–भागमा यो सञ्जाल केही कम भए तापनि देशभरिका विभिन्न स्टेसनहरूबाट प्राप्त अब्जर्भेसन, डिजिटल मोडलहरू र पछिल्लो स्याटेलाइट तथ्याङ्कलाई मुख्य आधार मानेर दैनिक रूपमा मौसम पूर्वानुमान बुलेटिन जारी गर्ने गरिएको मौसमविद् पोखरेलले जानकारी दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ