arrow

पूर्व र मध्य नेपालमा वर्षा र हिमपात, पश्चिमका तराईमा 'लु' को सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायुका साथै पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशको हिमाली भू–भागका साथै कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रहने अनुमान छ। देशको बाँकी पहाडी भू–भाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।

मौसमविदका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

यसैगरी, कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा र मधेस प्रदेशको पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी र मध्य क्षेत्रमा वर्षाको सम्भावना रहँदा पश्चिम नेपालका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा भने अत्यधिक गर्मी भई तातो दिन (लू) हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा नै रहनेछ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्छ। तराईतर्फ कोशी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशको एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने विभागले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ