arrow

बाजुराको लाम्पाटा घटना

जनप्रतिनिधि र प्रहरीमाथि तस्करहरूले आक्रमण गरेको ठहर, बुझाइयो ज्ञापनपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
bajura-case.jpg

काठमाडौँ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ लाम्पाटा क्षेत्रमा भएको अमानवीय र क्रूर घटनाको सत्यतथ्य छानबिन गरी संलग्न अराजक समूहलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ। उक्त क्षेत्रमा भएको विवादपछि नेपाल भोटे जनजाति सेवा संघ केन्द्रीय कार्यालय बाजुराले शनिबार सदरमुकाम मार्तडी बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको हो। 

संघले हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका–२ थाली गाउँका करिब तीन सय स्थानीयहरू संलग्न भई जेठ ३ देखि ५ गतेसम्म लाम्पाटा क्षेत्रमा अराजक र क्रूर तवरले गरेको अमानवीय व्यवहारको घोर निन्दा र आपत्ति जनाएको छ।

उक्त साङ्घातिक आक्रमणमा परी हिमाली गाउँपालिका–३ लाम्पाटाका वडा सदस्य पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुँवर र नरबहादुर गुरुङ घाइते भएका छन् भने प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापामाथि समेत आक्रमण भई घाइते भएका छन्।

यसअघि ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानका क्रममा मेयर गोपाल हमाल लगायतको टिम रानिसैन जाने क्रममा अघिल्लो दिनमै विवाद उत्पन्न गराई उक्त टोलीलाई गन्तव्यमा जानबाट रोक लगाइएको थियो। नेपाल भोटे जनजाति सेवा संघले घटनाको विरोधमा नारा जुलुससहित कानुनी प्रक्रियाका साथ दोषीलाई तत्काल कारबाही गर्न ज्ञापनपत्रमार्फत आग्रह गरेको छ। 

आन्दोलित समूहले सदरमुकाम मार्तडी बजार परिक्रमा गरेर सिडिओलाई ज्ञापनपत्र बुझाई लोकतान्त्रिक चोकमा कोणसभाको आयोजना गरेको थियो, जहाँ उनीहरूले "रानिखर्क बाजुराको हो, तस्करी हुम्लीलाई पक्राउ गर" भन्दै विरोध प्रदर्शन गरेका थिए। साथै हुम्लाका राजनीतिक दलहरूले मानवीय संवेदना समेत नराखी जारी गरेको विज्ञप्तिप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल भोटे जनजाति सेवा संघले यो कुनै सीमा विवाद नभई प्रहरी चौकी स्थापना भएपछि बहुमूल्य जडीबुटी चोरी सिकारी गर्ने तस्करहरूलाई अवरोध पुग्ने भएपछि योजनाबद्ध रूपमा गरिएको साङ्घातिक आक्रमण भएको ठहर गरेको छ। रानी सैन क्षेत्रको लाम्पाटा र च्याचौरमा २०१४ सालदेखि नै बाजुराका भोटे जातिले तिरो समेत तिरेर आफ्नो थातथलोको रूपमा स्थापित गरिसकेका छन् र नापी, लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार पनि यो भूमि बाजुरा जिल्ला अन्तर्गत नै पर्दछ। विगत लामो समयदेखि हुम्ली बासीहरूले यस क्षेत्रलाई आफ्नो जिल्लामा पर्ने दाबी गरे तापनि संघले यो तस्करहरूको अखडामा बाधा र अड्चन आउने भन्दै गरिएको आक्रमण मात्र भएको स्पष्ट पारेको छ।

घटनाका क्रममा घाइते हिमाली-३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ र मीन कुँवरलाई बन्धक बनाई यातना दिइएको र कागजमा जबरजस्ती सहीछाप गर्न लगाइएको भन्दै संघले यस कार्यमा संलग्न थला सामुदायिक वनका अध्यक्ष देवराज रावल, सचिव किशोर रावल र वडा सदस्य चन्द्रबहादुर रावल लगायतलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न माग गरेको छ। यसका साथै बिच्छ्यादेखि रानी सैनसम्मको बाटोमा रहेका काठे पुलहरू भत्काएर आवतजावतमा समस्या उत्पन्न गराइएकाले तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरिएको नेपाल भोटे जनजाति सेवा संघका अध्यक्ष जनक भण्डारीले बताए।

उनले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही हुनुपर्ने र शान्ति सुरक्षाका लागि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी नागरिकको जिउधनको सुरक्षा हुनुपर्नेमा जोड दिए। ज्ञापनपत्र बुझ्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हुम्ली जनताले गरेको अमानवीय र क्रूर व्यवहार निकै निन्दनीय भएको र यसले सबैलाई दुखित तुल्याएको बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिनका लागि केन्द्रमा समेत उच्च स्तरीय छानबिन समिति बन्ने आश्वासन दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ