arrow

कसले गर्ने तिनाउको संरक्षण ?

बरदानबाट अभिशाप बन्दै तिनाउः बुटवलको अस्तित्व धरापमा

logo
नारायण वली,
प्रकाशित २०८३ जेठ १२ मंगलबार
tinau nadi-butwal.jpg

लुम्बिनी । बुटवल बजार तिनाउको किनारमा विकसित भएको सभ्यता हो । सिद्धबाबा धामदेखि जितगढी किल्लासम्म तिनाउको धार्मिक र ऐतिहासिक सम्बन्ध छ । पाल्पाको पहाडबाट सुरु भई रुपन्देहीको तराई क्षेत्रको खेतियोग्य भू-भागलाई सिंचित गर्दै भारतको उत्तर प्रदेशसम्म बग्ने तिनाउ नदी, कुनै समय बुटवलको पहिचान र यस क्षेत्रको आर्थिक, सांस्कृतिक बरदान मानिन्थ्यो । 

मानव हस्तक्षेप, अव्यवस्थित उत्खनन, र नीतिगत कमजोरीका कारण प्राचीन तिनाउ सभ्यता अहिले आफ्नो अस्तित्वको अन्तिम लडाइँ लडिरहेको छ । कहिले बाढीको विनाश त कहिले अव्यवस्थित दोहनको सिकार बनिरहेको तिनाउको अस्तित्व बिस्तारै मेटिँदै गएको छ, जसले बुटवलको मात्र नभई रुपन्देही र पाल्पाको भावी पुस्ताको भविष्यमाथि प्रश्नचिन्ह खडा गरेको छ । 

अनियन्त्रित नदीजन्य पदार्थको उत्खनन् र चरम दोहनले नदीको स्वरुप बिग्रिदै जाँदा तिनाउ नदीको सभ्यता र अस्तित्व पछिल्लो समय गम्भीर धरापमा पर्दै गएको हो । रुपन्देहीको कृषि उत्पादनमा तिनाउको योगदान सिंचाइ र स्थानीयको दैनिक जीवनसँग जोडिएको छ । 

यता संरक्षणको सट्टा बुटवल उपमहानगरपालिकाले नगरबाट उत्पादन हुने दैनिक करिब ६० टन फोहर नदी किनारमा फाल्दै आएको छ, जसले तिनाउलाई ढल र फोहरको डम्पिङ साइट बनाएको छ ।

जिल्लाको उर्वर भूमि सिञ्चित गर्ने तिनाउ पछिल्लो समय फोहरको ढलमा परिणत हुँदै गएकोले नदीमा हुने प्रदूषण र रासायनिक लेदोले माछा लगायतका जलचरको अस्तित्व पनि संकटमा पर्दै गएको देखिन्छ ।

खोज तथ्यांकका अनुसार २०२७ सालदेखि व्यावसायिक उत्खनन् शुरू भएयता २०६४/०६५ सालतिर सबैभन्दा बढी नदीजन्य पदार्थ भारत निकासी भएको, खोलाको मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योग र डोजरको प्रयोगले नदीको सतह गहिँरिदै जाँदा पानीको स्रोत सुक्दै गएको, हरेक वर्षामा बस्तीहरु जोखिममा पर्ने र लाखौँ लागतमा बनाइएका भौतिक संरचना पुलहरूको भविष्यमा गम्भीर खतरा देखाएको छ । जेठको करिब दोस्रो हप्ता हुँदासम्म पनि तिनाउ नदी सुक्खा हुनु र तापक्रम निरन्तर बढ्दै जानु जलवायु परिवर्तनको प्रत्यक्ष असर भएको बताइएको छ । 

तिनाउ नदी बुटवलको गौरव मात्र होइन, यस क्षेत्रको जीवन हो । यो धरापमा पर्नु भनेको बुटवलको भविष्य नै संकटमा पर्नु हो । समयमै सचेत नभए तिनाउ एउटा इतिहासमा मात्र सीमित रहने जोखिम बढेको बुटवलका रैथानेबासी समाजसेवी मिनप्रसाद श्रेष्ठ बताउँछन् ।

रुपन्देही र पाल्पाको आर्थिक र सांस्कृतिक धरोहर तिनाउलाई बचाउन अविलम्ब अवैध उत्खनन रोक्नुपर्ने, फोहर व्यवस्थापनमा कडाइ गर्नुपर्ने र चुरे संरक्षण सहितको एकीकृत नदी व्यवस्थापन योजना लागू गर्नुपर्ने देखिएको र यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र इच्छाशक्ति आवश्यक हुनुपर्ने पर्यावरण संरक्षणकर्मी गंगा पोख्रेलको भनाइ छ ।

उनी भन्छिन्, 'तिनाउलाई केवल एउटा नदीका रुपमा मात्र नहेरी यसलाई लुम्बिनी क्षेत्रको ऐतिहासिक र सांस्कृतिक सभ्यताको रुपमा संरक्षण गर्न आवश्यक छ । यदि समयमै यसको उचित संरक्षण नहुने हो भने, बुटवल जस्ता सहरहरुले दीर्घकालीन पर्यावरणीय संकट बेहोर्नुपर्ने निश्चित छ ।'

तिनाउ नभएको भए आजको बुटवल बजार, सिद्धबाबा धाम र रुपन्देहीको उर्वर भूमि हुन्थ्यो कि हुन्थेन, त्यो इतिहास र वर्तमान अध्ययन गरे बुझिन्छ ।

बुटवलको इतिहासमै सबैभन्दा ठूलो विपत्ति बाढीकै कारण आउने गरेको छ । तिनाउ नदी संरक्षण र एकीकृत नदी बेसिन व्यवस्थापन विना बुटवलको दीर्घकालीन विकास असम्भव रहेको विज्ञहरुको सुझाव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ